कर्णाली प्रदेश सभामा दुई वटा विधेयक पारित

स्काई न्यूज/ माघ २४, सुर्खेत । कर्णाली प्रदेश सभामा दुई वटा विधेयक सर्वसम्मतले पारित भएका छन् । प्रदेश सभाको सोमबार बसेको नवौ अधिवेशनको छैठौं बैठकले कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश भित्रको राष्ट्रिय बनेको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतीले पारित गरेको हो । यो सँगै अब कर्णाली प्रदेश सभाबाट हालसम्म ३८ वटा विधेयक पारित भएका छन् । यस अघिका अधिवेशनका बैठकले ३६ वटा विधेयक पारित गरेको थियो । बैठकमा टेबुल भएर सैद्धान्तिक छलफल र संशोधन भएका विधेयकहरुको समेत प्रतिवेदन पेश गरिएको छ ।


कर्णाली प्रदेशमा व्यापार व्यवसाय दर्ता तथा सञ्चालन सम्बन्धमा बनेको विधेयक २०७७, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उपभोत्ता संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको संशोधनसहितको प्रतिवेदन पेश गरिएको हो । बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश लोकसेवा आयोग र मुख्य न्यायधिवक्ताको वार्षिक प्रतिवेदन २०७८ बैठकमा पेश गरेका छन् । उनले पेश गरेको प्रतिवेदन छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।

Translate »