पूर्वाधार विकासमा गति लिँदै तातोपानी

चार वर्षमा ७३ किमी सडक निर्माण

सागर परियार / माघ २७, जुम्ला । विकासको मेरुदण्ड मानिने सडक निर्माणलाई स्थानीय सरकारले विशेष प्राथमिकता दिएर लगानी गर्दै आएका छन् । भौगोलिक रूपले विकट गाउँबस्तीमा यातायातको पहुँच पुराउने उद्देश्यले सडक निर्माणलाई जोड दिँदै आएका हुन् । बितेको साढे चार वर्षमा जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक निर्माण भएका छन् । यद्यपि,सडक निर्माण भएका अधिकांश वडामा अझै यातायातको पहुँच पुग्न बाँकी छ । जस अन्तर्गत जुम्लाको तातोपानी गाउँपालिकाले बितेको साढे चार वर्षमा झण्डै ७३ किलोमिटर सडक निर्माण गरेको छ ।

पालिकाका ८ वटै वडामा सडक सञ्जाल पु¥याइ यातायातको पहुँच विस्तार गर्ने उद्देश्यले करोडौँ रकम खर्चेर साढे चार वर्षमा ७३ दशमलव ३ किलोमिटर सडक निर्माण भएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए । उनका अनुसार साढे चार वर्षमा सबैभन्दा बढी वडा नं. ४ को हाँकु, गौतमबाडा, नियापानी १९ दशमलव ९५ किलोमिटर र सबैभन्दा कम वडा नंं २ जर्मी, बाबिरा, डाँगीबाडामा ३ दशमलव ३७ किलोमिटर मात्रै सडक निर्माण भएको छ ।

त्यस्तै भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने तातोपानी वडा नंं ७ मा ७ दशमलव २८ किमी, वडा नंं. ८ मा ९ दशमलव ६७ किमी सडक निर्माण भएको छ । भने, वडा नं. १ राँका बाइराँकामा ९ दशमलव २१ किमी, वडा नंं. ३ लिताकोटमा ६ दशमलव ९१ किमी, वडा नंं. ५ मा ९ दशमलव ५७ किमी र वडा नंं. ६ मा ७ दशमलव ७ किमी गरी जम्मा ७३ दशमलव ३ किमी सडक निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत बुड्थापाले जानकारी दिए । उनले भने ,‘पालिकाको विकट क्षेत्र भनेको भेरीखोला हो । ८ नम्बर वडाको थलाले गाउँ बाहेक अन्य गाउँ सडक पहुँचमा पुगेका छन् । चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थलालेमा बाटो निर्माण गरिने छ ।‘गाउँ गाउँमा सडक पुगेका छन् । कतै फिनिसिङ हुन बाँकी छ । भने केही ठाउँमा स्तरवृद्धि गर्ने कार्यक्रम रहेको छ ।

गाउँका कृषि उत्पादनलाई बजार सम्म पु¥याउने र स्थानीय नागरिकको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य रहेको तातोपानी गाउँपालिकाले जनाएको छ । गाउँ गाउँमा सडक निर्माण गरिए पनि तिला नदीमाथि पुल निर्माण नभएका कारण गाउँमा अझै यातायात पहुँच पुग्न समय लाग्ने देखिन्छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने,‘पालिकाको लगानीमा पक्की पुल निर्माण सम्भव छैन । हामीले आधारभूत विकास गरिरहेका छौ । पुल निर्माणका लागि सङ्घ प्रदेशमा धाइरहेका छौ । ढिलो चाँडो गाउँ गाउँमा गाडी पुग्छन् ।’ सडक निर्माण गरेर यातायात पहुँच नपुगेले चाँडो स्तरवृद्धि गरेर छिटै गाडी गुडाउन स्थानीयले माग गरेका छन् । सडक पुगेपनि अझै कृषि उत्पादन थन्कीएको यातायात पहुँच नहुँदा बजार नपाएको स्थानीय लोक बहादुर दमाईको गुनासो छ । (रेडियो नेपाल)

Translate »