अदुवा बिक्री नभएपछि सुठो बनाउँदै सल्यानका किसान

दीपक शर्मा /  माघ २७,सल्यान । अदुवा उत्पादनका हिसाबले सल्यान अग्र स्थानमा आउँछ । बोसे जातको अदुवा सल्यानमा मात्र उत्पादन हुन्छ । नगदेबाली अदुवा वर्षेनी जिल्लामा ठूलो परिमाणमा उत्पादन हुन्छ तर बजार भने पाउन सकेको छैन । बिक्रीका लागि अदुवा उत्पादक कृषक अझै पनि भारतकै भर पर्नुपर्ने अवस्था रहेको छ । यो वर्ष पनि अदुवा बिक्री नभएपछि सल्यानका किसान चाना र सुठो बनाउन बाध्य भएका छन् ।

अदुवा खरिदमा आलटाल भएपछि अदुवा कृषक र व्यवसायी मारमा परेका छन् । अदुवा बिक्री नहुँदा चाना र सुठो बनाइरहेको बागचौर नगरपालिका–२ का सुरेश वलीले बताए । ४० क्विन्टल अदुवा उत्पादन भएपनि बिक्री नभएपछि चाना र सुठो बनाइरहेको उनले बताए । काँचो ७ क्विन्टलको सुकाउँदा १ क्विन्टल मात्र हुने बताउँदै उनले सुठोले पनि राम्रो मूल्य नपाएको बताए । उनले भने, ‘बारीमा कुहाएर फाल्नुभन्दा सुकाएर सुठो बनाइरहेका छौँ । २० रूपैयाँ प्रतिकिलो लैजाउ भन्दा पनि व्यापारीले लिन मान्दैनन् । लगानी नै उठाउन गाह्रो भयो ।’ पुस अन्तिम सातासम्म बिक्री भइसक्ने अदुवा किन्न कुनै व्यापारी नआएपछि १० रोपनीमा लगाएको अदुवा थन्क्याएर राखेको शारदा नगरपालिका–१४ माल्नेटाका दीपक गिरीले बताए ।
अदुवाले मूल्य नपाएपछि माल्नेटाका अधिकांश किसानले अदुवा थन्क्याएर राखेको बताए । स्टोर गरेर राखेको भएपनि प्रशोधन केन्द्र नहुँदा कुहिन थालेको उनले बताए । उनले भने, ’बिक्री हुन्छ कि भन्ने आशामा अहिलेसम्म राखेका छौं अब पनि बिक्री नभए सुठो बनाउने त होला ।’ जिल्लामा १ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा २९ हजार ६७ मेट्रिकटन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । गत वर्षभन्दा यस वर्ष अदुवा उत्पादन बढे पनि अहिलेसम्म अदुवाको माग नआएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले बताए । सल्यानका अधिकांश अदुवा भारत निकासी हुने गरेको र कोरोनाका कारण कुनै पनि व्यापारी अदुवा खरिदका लागि आउन नसकेको उनको भनाइ छ । जिल्लाबाट अहिलेसम्म कुल उत्पादनको करिब ३३ प्रतिशत मात्र अदुवा जिल्लाबाहिर निकासी भएको कार्यालयले जनाएको छ । (रेडियो नेपाल)

Translate »