हिमपातले सुन्तलाका बिरुवा नष्ट

माघ २९, जाजरकोट । लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौं सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लाष्टिक टनेलभित्र ग्राफ्टिङ गरिएका लाखौं सुन्तला, ओखर, कागतीलगायत बिभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो ।

दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौं सुन्तलाका बिरुवा नष्ट भएको जेवी कृषि फार्म उद्योगका प्रोप्राइटर जानुका मल्लले जानकारी दिए । दुई प्लाष्टिक टनेलमा रहेका ६० देखि ७० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएको प्रोप्राइटर मल्लको भनाइ छ ।

‘केही दिन अगाडि दैनिक एक हजार २०० ज्याला दिएर सुन्तलाका बिरुवामा कलमी गरेका थियौं, दुई दिनसम्मको हिमपातले प्लाष्टिकका टनेल थचारिएर सबै बिरुवा नष्ट भएका छन्,’ मल्लले भने, ‘हिमपातले हाम्रो जेवी कृषि फार्म उद्योगमा रहेका ६० देखि ७० हजारसम्म बिरुवा नष्ट गरेको छ, हरिबहादुर थापा प्रोपराइटर रहेको बाटापाखा हार्बिष्ट कृषि फार्मका ५० देखि ६० हजार बिरुवा नष्ट भएका छन्,’ वीरबहादुर खड्का प्रोप्राइटर रहेको प्रगतिशील नर्सरी उद्योगका ४० देखि ५० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएका छन् ।’

मललले दिएको जानकारीअनुसार शिवबहादुर मल्ल प्रोप्राइटर रहेको ‘प्रवीण हिउँदे तथा वर्षे फलफूल नर्सरी’मा भने हिउँले क्षति गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजात फलफूल जोनबाट विभिन्न अनुदान प्राप्त गरेका उक्त नर्सरीका बिरुवा हिमपातले नष्ट भएपछि नर्सरी सञ्चालक तथा प्रोप्राइटर चिन्तित भएका छन् । रासस

Translate »