सुर्खेतमा स्थानीय तहको चुनाव तयारी तीव्र

स्काई न्यूज/ फागुन ६, सुर्खेत ।  सरकारले वैशाख ३० गते निर्वाचन मिति तोकेसँगै प्रदेश निर्वाचन कार्यालय सुर्खेतले स्थानीय तहको चुनाव तयारी तीव्र पारेको जनाएको छ । छैठौं निर्वाचन दिवसको अवसरमा शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरिएको निर्वाचन सञ्चालन तथा व्यवस्थापन सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जिल्लाका मतदान स्थलको अवलोकन, कर्मचारी व्यवस्थापनसँगै आवश्यक प्राविधिक तयारी शुरु गरिएको जानकारी दिए ।

उनले फागुन १९ गते सुर्खेतका ९९ वटै वडामा मतदाता नामावली पठाईने भन्दै त्यो समयमा सच्याउनुपर्ने, त्रुटि हटाउने काममा सहयोग गर्न सबैसंँग आग्रह गरे । उनका अनुसार २०७३ सालबाट मनाउन शुरु गरिएको निर्वाचन दिवस आयोगले यो पटक यही फागुन ६, ७ र ८ गते ‘निर्वाचनमा सबै, सँधै, सँगै’ भन्ने नाराका साथ छैठौं निर्वाचन दिवस विभिन्न कार्यक्रमहरु गरि मनाउन लागिएको छ ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तहको चुनावलक्षित अन्तर जिल्ला संयुक्त सुरक्षा रणनीति बनाएर मतदान स्थल, अन्तर जिल्ला सीमा सुरक्षा सतर्कता, फरार अपराधी पक्राउ अभियान तीव्र पार्नेलगायत कार्यहरु शुरु भईसकेको जानकारी दिए । उनले आम नागरिकलाई भयरहित वातावरणमा मताधिकारको प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै स्वच्छ र पारदर्शी बनाएर स्थानीय तहको निर्वाचन सफल बनाउन सबै राजनीति दलहरुलाई आग्रह गरे ।

कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि पालिका स्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गर्ने गरि व्यवस्थापन मिलाउन लागिएको बताईन् । उनले जिल्लामा २ लाख १८ हजार ४३ जना मतदाता रहेकोमा अहिले बढेर २२ हजार भन्दा धेरै थपिएको जनाईन् । उनका अनुसार चैत १३ गते अन्तिम नामावली प्रकाशित गरिने आयोगको लक्ष्य रहेको छ । अहिले जिल्लाभरी १३८ वटा मतदान स्थल र २७६ वटा मतदान केन्द्र रहेका छन् ।

Translate »