हर्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्काई न्यूज /फागुन ७, सुर्खेत । सुर्खेत–नेपालगञ्ज रत्नराजमार्गको हर्रे चेकपोष्ट नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–१०, घारीवनका २० वर्षीय रविन सिंजाली र सोही ठाउँका १७ वर्षीय योगेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

छिन्चुदेखि नेपालगञ्ज जाँदै गर्दा बबई तर्फको भिरबाट २ सय मिटर तल मोटरसाइकल खसेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिप्रकाका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा घटनास्थलबाट दुबै जनाको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पताल ल्याईएपनि मोटरसाइकल अहिलेपनि घटना स्थलमै रहेको छ ।
तीव्रगति (ओभरस्पीड) भएका कारणले भीरनजिकैको टर्निङ्गमा मोटरसाइकलको हेन्डिल मोड्न नसकेर गएराती नै दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आज विहानमात्रै बाटोमा ओहर–दोहर गर्ने यात्रुले मोटरसाइकल भिरबाट खसेको देखेपछि हर्रे स्थित नेपाली सेनाको चेकपोष्टलाई खबर गरेका थिए । सेनाको चेक पोष्टले ईलाका प्रहरी कार्यालय छिन्चुलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली नै घटना स्थल पुगेर शब उठाउने कार्य गरेको हो ।