फेरी बढ्यो पेट्रोलियम पर्दाथको मूल्य


फागुन ७, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
शनिवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १४५ रुपैयाँ कायम गरिएको छ भने प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । यस्तै, निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
अन्तरराष्ट्रिय बजार मूल्य अनुरूप प्रतिलिटर पेट्रोल ५ दशमलव ६१ रुपैयाँले बढेको छ भने डिजेल ५ दशमलव ६२ रुपैयाँले बढेको छ । हवाई इन्धन भने ४ दशमलव ९५ रुपैयाँले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब २ अर्ब ४० करोड रुपैयाँ घाटा हुने अवस्था रहेको निगमको भनाइ छ ।
निगमले मूल्य समायोजनले निगमको १५ दिनको जम्मा घाटा करीब २ अर्ब ४० करोड रुपैयाँबाट करीब २५ करोड रुपैयाँले घटी अझै करीब २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहने बताएको छ ।

यसका साथै निगमले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करीब २४ अर्ब नोक्सानी व्यहोरी सकेकोले पेट्रोलियम पदार्थ खरीद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई थप कठिनाई हुने देखिएको पनि बताएको छ ।
निगमले जारी गरेको विज्ञप्तिमा यस मूल्य समायोजन पश्चात् भारतको सिमावर्ती बजार रक्सौलको भन्दा नेपालको वीरगञ्ज क्षेत्रको खुद्रा विक्री मूल्य नेपालतर्फ सस्तो रहेको उल्लेख छ ।
शनिवार रातीदेखि बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै उच्च रेकर्ड हो । निगमले गत माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा विक्री मूल्य हालसम्मकै उच्च थियो ।

