ट्रक पल्टिएर च्यापिँदा महिला प्रहरीको मृत्यु

स्काई न्यूज / फागुन ९, बाँके । बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानको ट्रक पल्टिएर च्यापिँदा मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको पल्टिएको ट्रकमा च्यापिएर मृत्यु भएको हो । ३६ वर्षीया उनको घर बर्दियाको ठाकुरबाबा नगरपालिका ७ मा रहेको कोहलपुर प्रहरीले जनाएको छ । चौराहामा आइतबार राति १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भई दुर्घटना भएको थियो ।

ना ३ ख ६४३६ नम्बरको ट्रक पल्टिँला चौराहाको पश्चिम क्षेत्रमा ड्युटीमा खटिएकी प्रहरी जवानको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिमालय शाहले बताए । ट्रक सुरुमा दक्षिणतर्फ रहेको डिभाइडरमा ठोक्किएको थियो । ट्रक चालक बबई गाउँपालिका ६ दाङका लोकराज केसीले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।