महिला समिति बैठक : ‘लिभिङ टुगेदर’बारे कानुन बनाउन सुझाव

काठमाडौँ — प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा विज्ञहरूले ‘लिभिङ टुगेदर’बारे कानुनी व्यवस्था गर्न सुझाव दिएका छन् । नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानुन बनाउन समितिको सोमबारको बैठकमा विज्ञहरूले सुझाव दिएका हुन् ।अधिवक्ता मोहनलाल आचार्यले भने, ‘विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धविच्छेदको आधारमा मात्रै बनाइएको छ । लिभिङ टुगेदर अहिले निकै बढ्दै गएको देखिन्छ । दोस्रो विवाह गर्न नपाउने कानुनी व्यवस्था गरिएको छ । तर लिभिङ टुगेदर भइरहेकोमा त्यसलाई अपराधीकरण गर्ने रियलाइज गरिएन भने बढ्दै जाने र फेरि महिलाहरू नै बढी पीडित हुँदै जाने सम्भावना देखिँदै गएको छ । विवाहित पुरुषले अविवाहित महिलालाई विवाह नै नभइ छुट्टै एउटा फ्ल्याट लिएर राख्ने धेरै छन् । यसबारे स्पष्ट ऐन बनायो भने सहज हुन्छ ।’
सांसदहरूले पनि लिभिङ टुगेदरको समस्या सम्बोधन गर्न स्पष्ट कानुन बनाउनु पर्ने धारणा राखेका थिए । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदर नेपालमा पनि प्रचलनको रुपमा अघि बढिसकेको र त्यसले वैवाहिक तथा घरेलु कानुनहरूलाई प्रभावित बनाएको बताइन् । ‘यसबाट कतिपय नकारात्मक घटना पनि भएका छन् । हामीसँग वैवाहिक कानुन छन् । घरेलु कानुनहरू छन् । त्यसलाई पनि यसले प्रभावित पारिरहेको छ,’ उनले भनिन्, ‘लिभिङ टुगेदरको बारेमा कस्तो अवस्थामा बस्न पाउने र कस्तो अवस्थामा बस्न नपाउने भन्ने सन्दर्भमा पनि यसलाई स्पष्ट रुपबाट कानुन बनाउन जरुरी छ । त्यो ढंगबाट कानुन बन्यो भने मात्रै विद्यमान कानुन कार्यान्वयन गर्न सहज हुन्छ । लिभिङ टुगेदरको बारेमा सरकारले छिटो भन्दा छिटो एउटा स्पष्ट खाका कोरेर सदनमा छलफल गराउन आवश्यक देखेको छु ।’
![]()

एमालेकी सांसद बिन्दा पाण्डेले लिभिङ टुगेदर बारे शीर्ष नेताहरूको मानसिकता नै परिवर्तन हुन नसकेको बताइन् । उनले लिभिङ टुगेदरको सन्दर्भमा प्रभावकारी कानुन निर्माण गर्नका लागि मूल नेतृत्वको मानसिकता नै परिवर्तन हुनुपर्ने बताइन् । ‘लिभिङ टुगेदरको बारेमा त २०६५ सालमा एउटा कानुन बन्दै थियो, त्यतिबेला पनि हामीले पहिलो संविधानसभामा त्यो विषयमा छलफल गरेका थियौँ । म आफैँले पनि त्यसलाई संशोधन हालेको थिए । हाम्रो नेताहरूको मानसिकता परिवर्तन भएको छैन । त्यो संशोधनमाथि छलफल गर्ने क्रममा कतिपय अपमानजनक खालको भाषा पनि प्रयोग गर्ने कुराहरु गर्नुभएको थियो,’ उनले भनिन्, ‘मूल नेतृत्वको मानसिकता कसरी परिवर्तन गर्ने भन्ने ठूलो समस्या छ । कानुन बन्ने सन्दर्भमा कस्तो लिभिङ टुगेदरलाई मान्यता दिने ? कस्तोलाई नदिने भन्दा अहिले जुन समस्या आएको छ । त्यो भनेको विवाहित पुरुषले बाहिर लिभिङ टुगेदरमा महिला राखेको भन्ने कुरा छ । यस्तो कुरालाई सम्बोधन गर्न सकिँदैन । तर विवाह नभइकन पनि कोही लिभिङ टुगेदरमा बसेका छन् भने लिभिङ टुगेदर पनि कतै न कतै रजिस्ट्रेसन हुनुपर्छ ।’
सांसद पाण्डेले बिना रजिस्ट्रेसनको लिभिङ टुगेदरले समस्या बढाउने कुरा राखिन् । ‘विवाहितहरूले त्यसरी बसेमा दण्डनीय हुने खालको बहुविवाहको मुद्दा लाग्ने कि नलाग्ने ? भन्ने कुराहरू पनि छलफल हुन जरुरी छ । खास गरेर यौनिक, लैङ्गिक तथा अल्पसंख्यक सन्दर्भमा त उनीहरूलाई पहिचान दिएको छ तर परिवारको अधिकार दिएको स्थिति छैन । कानुन बन्न जरुरी छ तर कानुन बन्दा यसका बारेमा गहन छलफल हुनुपर्छ,’ उनले भनिन् । समिति सभापति निरुदेवी पालले कानुन बाझिन नहुने गरी बनाउनु पर्ने बताइन् । उनले महिलाको हकहितको कुरा गरिरहँदा अझै पनि आमाको नामबाट नागरिकता लिन नपाइरहेको भन्दै त्यसमा प्रभावकारी ढंगबाट काम गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘हामी आज जसरी महिलाका सवालमा छलफल गरिरहेका छौँ । कानुन हामीले बनायौँ, कानुन अर्को कानुनसँग बाझियो । बाझिन हुँदैन, बाझिए यो हुनेछ त भनिएको छ तर व्यवहारतः त्यो छैन । कहीँ पनि कानुनमा आमाको नामबाट नागरिकता दिनुहुन्न भनिएको छैन । तर पाएका छैनन् ।’ (ई-कान्तिपुर)

