सात महिनामै १० खर्ब नाघ्यो व्यापार घाटा
फागुन १०, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/ ७९ को सात महीनामा मुलुकको व्यापार घाटा १० खर्ब रुपैयाँले नाघेको छ ।
गत वर्षको उक्त अवधिसम्ममा भने व्यापार घाटा ७ खर्ब ३३ अर्ब रुपैयाँ थियो । व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ दशमलव ४५ प्रतिशतले बढी हो ।
पहिलो ६ महीनासम्म ५० प्रतिशतभन्दा माथिको दरमा बढिरहेको आयात सातौं महीनापछि भने केहि कम भएको छ ।
भन्सार विभागले मंगलवार सार्वजनिक गरेको सातौं महीनाको अन्तरराष्ट्रिय व्यापारको तथ्यांक अनुसार मुलुकमा साउनदेखि माघ महीनासम्म कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ४२ दशमलव ७८ प्रतिशतले बढी हो । यसअघि पहिलो छ महीनासम्म आयात ५१ दशमलव १३ प्रतिशतले बढेको थियो । आयातको उच्च वृद्धि दर चालू आवको पहिलो महीनाबाटै उच्च छ ।
सातौं महीनामा निर्यातको वृद्धिदर भने केहि कम भएको पाइएको छ । ६ महीनासम्म लगातार शतप्रतिशतले बढेको निर्यात सातौं महिनामा ८८ दशमलव ३० प्रतिशतले मात्र बढेको छ । मुलुकमा माघ महीनासम्ममा १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो आवको सोही महीनामा भने निर्यात ६९ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।
अर्थ मन्त्रालयका अनुसार कोभिड–१९ को प्रभाव कम भएपछि पछिल्लो दुई वर्षयता रोकिएका आर्थिक गतिविधि एकसाथ अगाडि बढेका कारण यो वर्ष आयात उच्च भएको हो ।
अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले उच्च आयात र अर्कोतर्फ रेमिट्यान्स कम भएपछि विभिन्न उपकरणहरु प्रयोग गरिरहेको छ । विदेशी मुद्राको सञ्चितिमा समेत चाप परेपछि यसलाई कम गर्न सरकारले अघिल्लो महीनाबाट निश्चित वस्तुको आयातमा कडाइ गर्दै आएको छ ।
माघ महीनामा भने १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । पुस मसान्तसम्म आयात भने ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ थियो । (आर्थिक अभियान)