

बद्री पन्त /फागुन ११, जाजरकोट । सरकारले सात वर्ष पहिले नै देशभर तुइन विस्थापन गर्ने घोषणा गरेपनि कर्णालीका विभिन्न जिल्लाहरुमा लक्ष्य अनुरुप काम हुन सकेको छैन । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल (२०७२ साल) मै दुई वर्षभित्र तुइन विस्थापन गर्ने उद्घोष गरेपछि कर्णालीका बासिन्दा उत्साहित भएका थिए । त्यस बेला तुइन हटाएर झोलुङ्गे पुल निर्माणको योजना अघि सारियो । तर घोषणाको ७ वर्ष बित्दा पनि तुइन विस्थापनको लक्ष्य पूरा हुन सकेको छैन् । अहिलेपनि कर्णालीका विभिन्न स्थानमा तुइन विस्थापन गर्न झोलुङ्गे पुल बनेनन् ।
प्रदेशका हुम्ला, जाजरकोटलगायतका ग्रामीण क्षेत्रका स्थानीयवासी अझै पनि तुइनबाट कष्टकर यात्रा गर्न बाध्य छन् । पायक पर्ने स्थानमा पुल नहुँदा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नेदेखि विद्यार्थी, महिला, बिरामी र बालबालिकाले आवतजावतमा सास्ती खेप्दै आएका छन् । सरकारले पछिल्लो ६ वर्षमा प्रदेशका धेरै स्थानमा तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनाएपनि अझै केही स्थानमा बनाउन नसक्दा नागरिकले सास्ती खेप्नु परेको हो । अझै प्रदेशका भेरी र कर्णाली नदीसँगै अन्य खोलाखोल्साहरुमा अझै झोलुङ्गे पुल बन्न नसक्दा नागरिक अनाहकमा दुःख पाईरहेका छन् ।

जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता कायमै छ । नलगाड नगरपालिका १, ठूलाबगर र पश्चिम रुकुमको आठबीसकोट नगरपालिका १४, छोटेतरावीच भेरी नदीको तुइनको विकल्प छैन । नदीमा झोलुङ्गे पुल नहुँदा र अन्य स्थानबाट पनि आवतजावत गर्ने बाटो नहुँदा वषौंदेखि यहाँका बासिन्दा तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ठूलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पाली लगायत गाउँका १ सय घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भर वारपार गर्न विवश छन् ।
त्यस्तै पश्चिम रुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेला लगायत ठाउँका बासिन्दा पनि उक्त तुइनको सहयोगले भेरी नदी वारपार गर्दै आएका छन् । स्थानीय प्रविधिबाट काठले बनेको ढुङ्ग्रोमा बसी फलामको डोरीमा झुन्डिएर एक सय मिटर चौडा भेरी नदी वारपार गर्ने गरेको स्थानीय वीरबहादुर पुनको भनाइ छ । तुइन तरेरै जिन्दगी बित्न थालेको वषौं भइसक्यो तर पुल बनाउने कोही नभएको उनको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको उनले स्काई न्यूजसँग गुनासो पोखें ।


‘पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा लाग्छ । त्यो पनि जोखिम पूर्ण भीरको बाटो छ,’ उनले भने, ‘उक्त अप्ठेरो बाटोबाट लडेर कत्तिको ज्यान समेत गइसकेको छ ।’ अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनु भन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु ठिक भएको स्थानीय झरना घर्तीले बताईन् । उनका अनुसार स्कुले बालबालिका, बृद्धबृद्धा लगायतलाई तुइनकै भरमा नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । ‘३०÷४० वर्ष अघिसम्म नदी वारपार गर्दा चिन्डा र ढुङ्गा (नाउ) को प्रयोगमा थियो,’ उनले भनिन्, ‘चिन्डा र ढुङ्गाको माध्यमले वारपार गर्ने क्रममा नदी बगेर ३ जनाले ज्यान समेत गुमाई सकेका छन् ।’
२५ बर्ष अघि बनेको उक्त तुइनकै भरमा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्न, औषधी उपचार गर्न र अन्य कामकाजका लागि सदरमुकाम खलङ्गा आवतजावत गर्नुको विकल्प नरहेको वडाध्यक्ष हिरालाल पुनले बताए । उनले पुल बनाइदिन विभिन्न निकायमा पटक–पटक आग्रह गरे पनि सम्बन्धित निकायको ध्यान नदिएको गुनासो गरे । विकासे कार्यकर्ता र राजनीति दलका स्थानीय नेता यसै तुइनको सहायताले नदी वारपार गर्छन् ।
चुनाव आउँदा नेताले हामी पुल निर्माणका लागि पहल गर्छौ भनेर जाने तर जितेर गएपछि फर्केर नआउने गरेको स्थानीय सेतबीर पुनको भनाइ छ । उनले तुइनबाट वारपार गर्ने क्रममा मोबाइल, विद्यार्थीका किताब, खाद्य सामाग्री नदीमा खस्ने गरेको दुःखेसो पोखे । जनजाति तथा दलित समुदायको बाहुल्यता रहेको ठुलाबगर लगायत गाउँका बासिन्दाको पुलद्वारा नदी वारपार गर्ने धोको कल्पनामा सीमित भइरहेको उनको भनाइ थियो ।












