एमसीसी विरुद्ध जिल्ला प्रशासन घेराउ
रगवीर विश्वकर्मा /फागुन १२, सुर्खेत । एमसिसीको खारेजीको माग गर्दै संयुक्त जनआन्दोलन समिति सुर्खेतले विहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेत घेराउ गरेको छ । प्रशासन कार्यालयलाई घेराउपछि कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी सुर्खेतका सेक्रेटरी ध्रूबले एमसिसी आएमा नेपाल सिरिया जस्तै बन्ने बताए ।
उनले एमसिसी कार्यान्वनका लागि अमेरिका र चीन लड्नेछन् तर त्यसबाट नेपाल र नेपाली जनताको मात्र पूर्णरूपमा क्षति मात्र होइन देश अमेरिकाको पराधिन हुने दावी गरे । राष्ट्रघाती एमसिसी खारेज हुनुपर्ने उनको माग थियो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य कृष्ण गुरूङले मानिसलाई आफ्नो ज्यान भन्दा देश र स्वाधीनता प्यारो हुने हुँदा एमसिसी नेपालका लागि अनावश्यक भएको जिकिर गरे ।
उनले देशको स्वाधिनताका लागि हुने युद्धलाई कसैले रोक्न नसक्ने भएकाले हत्या, हिन्सा रोक्नका लागि पनि एमसिसी खारेज हुनुपर्नेमा जोड दिए । सभामा राष्ट्रिय जनमोर्चाका रत्नविक्रम राना प्यासीले एमसिसीमा त्यसले दिने पैसाभन्दा राष्ट्रघाति बॅुदा र प्रावधान भएकोले एमसिसी खारेज गर्न आग्रह गरे ।
त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका डेबिड परियार, नेकपा (माओवादी केन्द्र समाजवादी) का सागर, नेकपा (मसाल) का बिष्णुप्रसाद शर्मा, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका नेत्रबहादुर शाहीलगायतले कोण सभालाई सम्बोधन गरेका थिए ।
यसअघि संयुक्त जनआन्दोलन समितिले स्थानीय मंगलगढीचोकबाट झण्डा व्यानर, प्लेकार्डसहित नारा जुलुस् गर्दै शुरू गरिएको बिरोध ¥याली सुर्खेत बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा कोण सभा गरेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य यामराजले जानकारी दिए ।