सुर्खेतमा बन्दको आंशिक प्रभाव
स्काई न्यूज /फागुन १६, सुर्खेत । दुई मोर्चासहित ६ वटा कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको सुर्खेतमा आंशिक प्रभाव परेको छ । अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) सम्झौता पारित गरेको विरोधमा ती पार्टीका नेता, कार्यकर्ता एवं समर्थकले स्थानीय मंगलगढी चोकलगायतका स्थानमा अति आवश्यक बाहेकका यातायातका सवारी साधन गुड्न दिएका छैनन् ।
बन्दले सुर्खेतबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसक्दा आम सर्वसाधारलाई सास्ती भएको छ । बन्दको प्रभाव शहरी क्षेत्रका केही विद्यालय र बजार क्षेत्रमा परेपनि ग्रामीण क्षेत्रमा भने सदाझै सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
उनले बन्दलाई मध्यनजर राखेर शान्ति सुरक्षा कायम राख्न विहानै देखि व्यापक मात्रमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बललाई परिचालन गरिएपछि अहिलेसम्म कुनै अप्रिय घटना नघटेको बताए । यता प्रत्यक्षदर्शीका अनुसार प्रहरीले नै सवारी साधनहरुमा हुन सक्ने आगजनी तथा भौतिक क्षती रोक्न सवारी चालकहरुलाई सुरक्षा अपनाउन डाइभर्ट गरिरहेको बताएका छन् ।
उता चोक–चोकमा बन्दकतार्हरुलाई संयमित भएर आन्दोलन सफल पार्न अनुरोध गरिएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले बताए । बन्द समर्थनमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंहको नेकपा मसाल, मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेलको नेकपा, आहुतीको वैकल्पिक समाजवादी कम्युनिस्ट र कर्णजित बुढाथोकीको नेकपा माओवादी समाजवादी रहेका छन् ।