वीरेन्द्रनगरमा कर्फ्यू हटाएर निशेधाज्ञा लगाईयो

डिलबहादुर खत्री /फागुन १७, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कर्फ्यू  हटाएर निषेधाज्ञा लगाएको छ । अमेरिकी सहयोग परियोना (एमसीसी) विरुद्धको आन्दोलन उग्र बनेपछि सोमबारदेखि जारी गरिएको कर्फ्यू  मंगलबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले सम्वेदनशील ३ स्थानमा निषेधाज्ञा लगाईएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थिती सामान्य बन्दै गईरहेकाले हटिया चोक, मंगलगढीचोक र ऐरी चोकमा मात्र निषेधाज्ञा लगाईएको बताए । उनले स्थिती सामान्य नबनूनजेल अनिश्चित निषेधाज्ञा कायमै रहने जनाए ।

‘जिल्ला प्रशासन कार्यकालयमा मंगलबार बसेको सर्वदलिय बैठकपछि स्थिती सामान्य बनाउन खुकुलो बनाउने निर्णय गरिएको हो,’ उनले भने, ‘दिनभरिको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएकाले सुरक्षा समितिको निर्णयपछि कर्फ्यूको सट्टा निषेधाज्ञा लगाईएको हो ।’ उनले निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी मान्छे जमघट, भेला, विरोध प्रदर्शन गर्न रोक लगाईएको बताए । उनका अनुसार अर्को आदेश नहुञ्जेसम्म तीन क्षेत्रमा निषेधाज्ञा कायम रहनेछ ।

सोमबार दिउँसोदेखि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै सार्वजनिक सम्पत्ती र राजनीति दलका पार्टी कार्यालयमा आगजनी गर्न थालेपछि प्रशासनले स्थिती नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरेको थियो । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्फ्यू  आदेश उलंघन गर्दै सुरक्षाकर्मीलाई आन्दोलनकारीबाट ढुङ्गामुडा भएपछि प्रहरी निरीक्षकसहित ९ जना सुरक्षाकर्मी र २ जना आन्दोलकारी घाईते भएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार हालसम्म कर्फ्यू उलंघन गर्ने २६ जनालाई नियन्त्रणमा लिईएको छ । ती मध्ये केही आन्दोलनकारीलाई सार्वजनिक मुद्धा नै चलाउने तयारी भएको उनको भनाइ छ ।

Translate »