पत्रकारितामा विश्वसनीयताको संकट बढ्दै : गोकुल बास्कोटा

स्काई न्यूज /फागुन १९, सुर्खेत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको संकट पैदा हुँदै गएको बताएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश प्रथम अधिवेशनलाई विहीबार सुर्खेतको वीरेन्द्रनगरमा बोल्दै उनले विश्वसनियताको संकटले पत्रकारिताको महत्व कम हुन नदिन पत्रकार नै जुट्नु पर्ने बेला आएको बताएका हुन् । नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गएको भन्दै उनले ‘स्ट्रीक पत्रकारिता होइन, स्ट्राईक पत्रकारिता’ गर्न आवश्यक रहेको औल्याए ।

एक फरक प्रशंङ्गमा उनले भने, ‘एमालेको प्रतिस्पर्धी एमाले नै हो । एमालेको रातो घोडालाई रोक्न जस्तोसुकै गठबन्धन बनेपनि त्यो अगाडि बढ्नबाट रोकिने छैन् ।’ उनले परमादेशबाट बनेको गठबन्धनलाई जनतादेशबाट जवाफ दिन आतुर रहेको जिकिर गरे ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पत्रकारिता भित्र रहेको विकृति र विसंगतिलाई हटाउँदै जनपक्षिय पत्रकारिताबाट मात्र समृद्धिको कल्पना गर्न सकिने बताए । उनले सञ्चार क्षेत्रलाई निष्पक्ष बनाउन प्रेस चौतारीले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल, गोरख बोगटीलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै कर्णाली भित्र रहेको विकृति र विसंगति बाहिर ल्याउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको औल्याए । उनीहरुले प्रदेशको समृद्धिका लागि प्रेस चौतारीले जनपक्षिय पत्रकारिताका माध्यमबाट सुसुचित गर्न आग्रह गरे । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

Translate »