बाबुको मृत्युपछि तीन बालिकाको बिचल्ली


स्काई न्यूज /फागुन २२, सुर्खेत । सुर्खेतको चौकुनेमा बाबुको मृत्युपछि तीन बालिककाको विचल्ली भएको छ । चौकुने गाउँपालिका–८, गुटुकी ९ वर्षीय संगीता बयक, ६ वर्षीया तुलसी बयक र ४ वर्षीय रविना बयकका बुवा पदमसिंह बयकको गएको असार १९ गते भारतको हैदरावादमा उपचारक्रममा मृत्यु भयो ।
श्वासप्रवासको विरामीले पीडित पदमसिंह हैदरावादमा चौकीदारी काम गर्दा गर्दै अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरे । बुवाको मृत्युपछि भारतको हैदरावादबाट ती बालिकालाई छिमेकीले गाडीभाडा दिएर गाउँ ल्याए । ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने गरेका बुवाको मृत्युपछि तीनै बालबालिकालाई नजिकका नातेदार लालमति बयकले जेनतेन संरक्षण दिईरहेकी छिन् ।
अर्काको घरमा विमार रहेकी ती बालिकाकी आमा मायादेवी बयकले पतिको मृत्युपछि तीनै छोरीहरु पूर्णरुपमा बेसहारा बनेको बताईन् । मानसिक र शारीरिक दुवै समस्याबाट ग्रसित आमाले धेरै काम गर्न नसकेपनि उनीहरुलाई संघ संस्थासँग संरक्षणका लागि आवश्यक सहयोगको याचना गरेकी छिन् ।


‘मेरो पनि आर्थिक हैसियत बलियो छैन्, ‘सबैको साथ र सहयोगले उनको पढाईलाई निरन्तरता दिनुपर्ने अवस्था छ,’ हाल आमासहित तीन बालिकालाई संरक्षण दिईरहेकी लालमति बयकले भनिन्, ‘जग्गा जमीनको नाममा केही नभएका उनीहरुको आम्दानीको स्रोत नहुँदा बिहान बेलुकाको छाक टार्न र एकसरो लुगा लगाउन समेत धौधौ परेको छ ।’
अहिलेको जाडोमा गतिलो कपडा लगाउने र ओढ्ने ओच्छ्¥याउने समेत नहुँदा निकै समस्यामा परेको उनको भनाइ छ । हाल जीवन ज्योति मावि गुटुमा कक्षा १ मा अध्ययनरत तीनै बहिनीको पुख्यौली सम्पत्ती समेत नभएकाले पढाईमा लाग्ने खर्च नहुँदा नियमित पठनपाठनमा समेत समस्या रहेको छ । अहिलेसम्म कुनै निकायबाट पनि सहयोग नपाएका ती बालिकाहरुलाई गतिलो कपडासमेत लगाउन नपाउँदा झनै समस्यामा परेका छन् ।
ती बालिकाहरुको बानी व्यहोरा निकै लोभलाग्दो रहेपनि भविष्यमा हेरचाह र शिक्षादीक्षामा हुने खर्चको चिन्ताले सताउने गरेको हाल संरक्षण दिईरहेकी लालमतिले बताईन् । गुटुका समाजसेवी काशीराम जैसी देवकोटाले ती निर्दोष बालिकालाई यति बेला सबैको सहयोगको आवश्यकता रहेको बताए ।
उनले गाउँपालिकाले बालिकाको नाममा बैंकमा खाता खोलेर आर्थिक जम्मा गरी त्यसको ब्याजबाट शिक्षादीक्षा सहित आवश्यक खर्च गर्नुपर्ने औल्याए । भारतबाट स्वदेश तथा तेस्रो मुलुकमा रहेकालाई समेत अभियान चलाएर ती बालिकाको भविष्य बनाई दिन उनले आग्रह गरे । अभिभावकको मृत्युपछि बेसहारा भएकी ती बालिकाहरुको संरक्षणको लागि सरोकारवाला निकायसम्म ध्यान पु¥याई दिन हाल संरक्षण दिईरहेका आफन्तको अपिल छ ।


