मुस्कान बाल उत्थान केन्द्रद्वारा चौकुनेका अनाथ बालबालिकालाई शैक्षिक सामाग्रीसँगै लत्ताकपडा सहयोग


स्काई न्यूज /फागुन २३, सुर्खेत । मुस्कान बाल उत्थान केन्द्र नेपालले अनाथ बालबालिकालाई विभिन्न सामाग्री सहयोग गरेको छ । केन्द्रले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय सान्नेघारीका १७ जना अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहित लत्ताकपडा सहयोग गरेको हो ।
अनाथ बालबालिकालाई करिब ८० हजार मूल्य बराबरका ओढ्ने विस्¥याउने डसना, व्याल्ङ्केट, ट्¥याक सुट, शैक्षिक सामाग्रीसँगै खेलकुद सामाग्री सहयोग गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अध्यक्ष दिपकबहादुर सिंहले अनाथ बालबालिकाको शैक्षिक उन्नयनसँगै व्यक्तित्व विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।

उनले आगामी दिनमा समेत विभिन्न कारणले उपेक्षित, उत्पीडित, सीमान्तकृत, दलित विपन्न, अपाङ्ग, दृष्टिविहिन, कैदीबन्दीका बालबालिकाको शैक्षिक उन्नयनसँगै सुन्दर भविष्य निर्माणका लागि निरन्तर सहयोग अभियान अगाडि बढाईने जनाए ।

उनका अनुसार दुई वर्ष पहिले सुर्खेतको वीरेन्द्रनगर मुख्यालय बनाएर मुस्कान बाल उत्थान केन्द्रले कोरोनाका कारणले आफ्नो अभियानलाई अगाडी बढाउन ढिलाई भएपनि अब तीव्रता दिईने छ ।
यता केन्द्रको सहयोगबाट अनाथ बालबालिकालाई चिसो मौसममा आर्थिक अभावले भोग्नु परिरहेको समस्यामा लत्ताकपडासँगै शैक्षिक सामाग्री सहयोगले ठूलो राहत पुगेको विद्यालयले जनाएको छ । विद्यालयले अन्य मनकारी दाताहरुसँग पनि अनाथ बालबालिकाको शैक्षिक उन्नयन तथा व्यक्तित्व विकासमा सहयोग गरि दिन अपिल गरेको छ ।


