आगलागीबाट एक जनाको मृत्यु

फागुन २५, बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गए राती अन्दाजी १० बजेको समयमा बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनी बस्ने सानु चौधरीको टिनले छाएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा घर भित्र सुतिरहेको अवस्थामा रहेका १४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

अचानक आगलागी भएको भनी खबर प्राप्त हुनासाथ १० मिनेट भित्र प्र.चौ.कतर्नियाघाट तथा ई.प्र.का.मोतिपुरबाट प्रहरी टोली घटनास्थल पुगेपनि स्थानीयवासी, प्रहरी र दमकलको सहायताले एक घण्टापछि मात्र आगो नियन्त्रणमा लिन सकिएको प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताए।
आगलागीबाट मृत्यु भएका चौधरीको शव पोष्टमार्टमको लागि बर्दिया अस्पताल गुलरिया राखिएको तथा अन्य थप अनुसन्धान भइरहेको शाहीले बताए ।