२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

युक्रेन छाड्नेको संख्या २० लाख पुग्यो

रूसी आक्रमणका कारण शरणार्थी जीवन बिताउन बाध्य युक्रेनीलाई छिमेकी देशहरुले खाने, बस्नेलगायतका आधारभूत आवश्यकता उपलब्ध गराइरहेका छन्


जेनेभा — युक्रेनमा रुसले आक्रमण सुरु गरेयता २० लाख सर्वसाधारणले देश छाडेका छन् । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका अुनसार विस्थापितहरू पोल्यान्ड, हंगेरी, स्लोभाकिया, मोल्दोभा, रोमानिया पुगेका छन् । कम्तीमा १२ लाख ४० हजार जना छिमेकी देश पोल्यान्ड पुगेको जनाइएको छ । त्यसैगरी, १ लाख ९१ हजार जना हंगेरी पुगेका छन् । १ लाख ४१ हजार स्लोभाकिया, ८३ हजार मोल्दोभा र ८२ हजार रोमानिया पुगेका छन् । त्यस्तै, रुस जानेको संख्या ९९ हजार ३ सय पुगेको छ । बेलारुस जानेको संख्या भने न्यून रहेको जनाइएको छ ।

४ सय ५३ जना मात्र बेलारुस पुगेका छन् । युक्रेनबाट विस्थापित भएकामध्ये १ लाख ८३ जार जना अन्य युरोपेली देश पुगेका राष्ट्रसंघले जनाएको छ । आक्रमणपछि शरणार्थी जीवन बिताउन बाध्य युक्रेनीलाई छिमेकी देशहरूले खाने, बस्ने लगायतका आधारभूत आवश्यकताको जोहो गरिरहेका छन् ।

पछिल्ला दिनहरूमा रुसी सेनाले युक्रेनमाथिको आक्रमण तीव्र पारेपछि विस्थापित हुनेको संख्या निकै बढेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनका विभिन्न सहरहरूबाट सीमाक्षेत्रतर्फ जाने रेलमा यात्रुहरू खचाखच देखिन्छन् । त्यस्तै सडकहरूमा गाडीको निकै लामो लाइन देखिन्छ ।

शरणार्थीहरूलाई अन्य मुलुक जान युक्रेनी वा विदेशी पासपोर्टका अलावा अन्य कागजात नचाहिने जनाइएको छ । बालबालिकाको हकमा भने जन्म दर्ता तथा स्वास्थ्यसम्बन्धी प्रमाणपत्र आवश्यक पर्ने जनाइएको छ । तर अफ्रिकी देशका नागरिकलाई भने युक्रेनबाट बाहिरिन रोकिएको सूचना प्राप्त भएको बीबीसीले जनाएको छ । युक्रेनका छिमेकी देशमा आफन्त वा साथीभाइ नभएकाहरूलाई अस्थायी शरणार्थी शिविरमा राखिएको र पानी, खानेकुरा तथा औषधिको व्यवस्था गरिएको छ ।

युरोपका रेल सञ्चालकहरूले युक्रेनी नागरिक पुष्टि हुने कागजपत्र भएकालाई निःशुल्क यात्राको व्यवस्थासमेत गरिएको जनाएका छन् । युरोपेली संघले गत बिहीबार युक्रेनी नागरिकलाई अस्थायी बसोबास अनुमति दिइने बताइसकेको छ । जसका कारण उनीहरूले शरणका लागि निवेदन दिनुपर्ने छैन ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्त फिलिपो ग्रान्डीले ‘पोल्यान्डमा समुदायस्तरबाट शरणार्थीलाई असामान्य सहयोग’ भइरहेको भन्दै प्रशंसा गरेका छन् । तर अबका केही दिनमा शरणार्थीको संख्या निकै उच्च हुने भन्दै खाना तथा बासस्थानका लागि समस्या पर्ने सक्ने जनाए । रुसी आक्रमणका कारण यक्रेनबाट कम्तीमा ४० लाख विस्थापित हुने राष्ट्रसंघको अनुमान छ । अन्य करिब १० लाख आन्तरिक रुपमा विस्थापित हुने राष्ट्रसंघले जनाएको छ । युरोपेली संघले भने रुसी आक्रमणका कारण ७० लाख विस्थापित हुने र कम्तीमा १ करोड ८० लाख युक्रेनी प्रभावित हुने जनाएको छ ।

रुसी आक्रमण सुरु भएसँगै पोल्यान्डले युक्रेनलाई मानवीय र सैन्य सहायता उपलब्ध गराउँदै आएको छ । त्यस्तै, युक्रेनसँग सीमा जोडिएका अन्य देशले पनि शरणार्थी सहायताका लागि स्रोत परिचालन गरिरहेका छन् । पोल्यान्डको सीमावर्ती क्षेत्रमा सयौं स्वयंसेवक विस्थापितको सहायताका लागि खटिएका छन् । उनीहरूले युक्रेनीलाई न्यानो कपडा तथा खानेकुराका साथै मोबाइल फोन र सिमकार्ड उपलब्ध गराएको जनाइएको छ । युक्रेन र रुसबीच सन् २०१४ मा नै सुरु द्वन्द्वका कारण विस्थापित करिब २० लाख युक्रेनी पोल्यान्डमा बस्दै आइरहेका छन् ।

रोमानिया सरकारले ३० दिनका लागि कम्तीमा ७० हजार शरणार्थीका लागि खाने, बस्ने व्यवस्था गर्ने जनाएको छ । हंगेरी र रोमानियाले विस्थापितलाई खानेकुरा र लुगाफाटोका लागि नगद भत्ताको व्यवस्था गरेका छन् । त्यस्तै, बालबालिकालाई स्थानीय विद्यालय पढाउन दिइएको जनाइएको छ ।मोल्दोभाका राष्ट्रपति मैआ सन्दुले शरणार्थीलाई आवश्यक सहयोग पुर्‍याउन सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छन् । चेक गणतन्त्रले शरणार्थीका लागि विशेष भिसा आवेदनको व्यवस्था गरिने जनाएको छ ।

त्यस्तै, जर्मनी र ग्रीसले पाल, ब्लांकेट र मास्कहरू स्लोभाकिया पठाएका छन् भने फ्रान्सले औषधि तथा स्वास्थ्य सामग्री पठाएका बीबीसीले उल्लेख गरेको छ । जर्मनीले ५ वर्षअघि सिरियाली शरणार्थीका लागि तयार पारेका शिविरहरू पुनः सञ्चालनमा ल्याइसकेको छ । सिरियाली शरणार्थीको समस्या चुलिएका बेला सीमा प्रवेशमा कडाइ गरेका पोल्यान्ड र हंगेरीलगायत मुलुकले युक्रेनीहरूका लागि भने ढोका खुला गरेका हुन् ।

त्यसैगरी, बेलायती रक्षामन्त्री बेन वालेन्सले शरणार्थीका लागि आफ्नो देशले सहयोग बढाउने जनाएका छन् । युक्रेनबाट विस्थापितका लागि सक्दो सहयोग नगरेको भन्दै यसअघि बेलायतको आलोचना भएको थियो । बेलायतले नयाँ योजनाअनुसार कम्तीमा ३ सय युक्रेनीलाई भिसा उपलब्ध गराइसकेको र पारिवारिक सदस्य भेट्ने क्रममा रहेका १७ हजार ७ सयको आवेदनबारे अध्ययन सुरु भइसकेको जनाएको छ । त्यसैगरी, अन्य ८ हजार ९ सयले आवेदन दिएका बेलायतले जनाएको छ । (एजेन्सी)

प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार
Translate »