पाठेघरको रोग पाल्दै हुम्लाकी होइजाली

फागुन २७, हुम्ला । हुम्लाको दक्षिण भेगमा एक जना महिलाले आर्थिक समस्याले रोग पालिरहेकी छन्। ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी अर्थाभावमा रोग पालिरहेकी हुन् ।
पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा उपचार गर्ने पैसा नहुँदा घरमै रोग पालिरहेकी छन् । होइजालीले १० महिनादेखि यो रोग पाल्दै आएकी छन् । गत जेठमा ५० हजार रुपैयाँमा भैँसी बिक्री गरेर नेपालगन्जको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न पुगिन् । अस्पतालले पाठेघरमा सङ्क्रमण भएको भन्दै खाने औषधि दिएर घर पठाएको थियो । चौध दिन अस्पताल बसेर धामीले उपचार गरेकी थिईन् । चाँडै निको हुने स्वास्थ्यकर्मीले आश्वासन दिएर खाने औषधिका साथ घर पठाएको होइजालीका श्रीमान् दलसुर धामीले बताए ।
होइजालीले औषधि खाएर सकेकी छन्, तर फेरि समस्या उस्तै छ, मैला स्वास्थ्य चौकीले सिफारिस गरेको भए पनि पैसा नहुँदा पीडा सहँदै बसिरहेको मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले बताए । अर्थावस्था निकै कमजोर रहेको उनको परिवारलाई उपचारका लागि नेपालगञ्जसम्म जाने भाडासमेत नभएको गुनासो गरेको इन्चार्ज ढकालले बताए। तल्लो पेट दुख्ने, रगत, पिप बग्ने, शरीर दुख्नेजस्ता समस्या भइरहेको होइजालीले बताए ।


श्रीमान् दलसुर धामीले श्रीमतीको उपचारका लागि घरमा भएको भैँसी यसअघि नै बिक्री गरेर उपचार गरे । तर अहिले बिक्री गर्नलाई सम्पत्तिसमेत नहुँदा श्रीमतीको उपचार गर्न नसकेको दुःखेसो पोख्ए । सुरुसुरुमा होइजालीले आफ्नो समस्या लुकाएकी थिईन् , अहिले धेरै अप्ठ्यारो भएपछि मात्र उनले समस्या भएको बाहिर ल्याएकी हुन् ।
होइजालीजस्तै हुम्लाको ग्रामीण बस्तीका महिलामा पाठेघर खस्ने समस्याले बढी देखिने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने महिला यो समस्याबाट बढी पीडित भएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । धेरै महिला यौन रोग लुकाएर पालिरहेका छन् । अप्ठ्यारो अवस्थामा मात्रै स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।
यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भए लगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली–अेराली गर्नुपर्ने, भारी बोक्नुपर्ने, बच्चा धेरै जन्माउनुपर्ने अशिक्षाका कारण लाज मान्ने प्रवितले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने स्वास्थ्यकर्मी ढकालले बताए । दुर्गमका महिलाहरू अझै पनि वर्षौँदेखि रोग लुकाएर बस्ने गरेका छन् । (रेडियो नेपाल)

