नागरिकको पहुँचमा रेडियो प्रसारण पहुँच पुर्‍याउनुपर्छ : सचिव डा. अर्याल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको अनुगमन

फागुन २८,सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले आज रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको अनुगमन निरीक्षण गरेका छन् ।
अनुगमनका क्रममा सचिव डा. अर्यालले रेडियो नेपालको हर्रे चमेरेमा रहेको एफ.एम.रिले स्टेसनको प्रसारण क्षमता वृद्धिका लागि आफूले सक्दो पहल गर्ने बताए ।

उनले साबिक कर्णाली अञ्चलका पाँच वटै जिल्लामा रहेका एफ.एम.रिले स्टेसनको प्रसारणलाई गुणस्तरीय बनाई सबै स्थानीयको पहुँचमा रेडियो नेपालको प्रसारण पु¥याउनका लागि आवश्यक क्षमता बढाउन आफूले पहल गर्ने बताए । उनले प्रादेशिक प्रसारण कार्यालय सुर्खेतले यस प्रदेशका लोक गीत सङ्गीत तथा संस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।
सचिव डा.अर्यालले यस प्रादेशिक प्रसारण कार्यालय र यस मातहतका एफ.एम.रिले स्टेसनमा कार्यरत कर्मचारीहरूलाई दत्तचित्त भएर आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन पनि दिए । प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख आनन्द विश्व पन्तले कार्यालयको आर्थिक, प्राविधिक, सुरक्षा, कार्यक्रम, व्यापार लगायत विषयमा सचिव डा. अर्याललाई जानकारी गराए ।
सचिव डा. अर्यालले आजै हुलाक निर्देशनालय सुर्खेत, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत र नेपाल टेलिकमको जिल्ला कार्यालय सुर्खेतको निरीक्षण भ्रमण गरेका थिए । (रेडियो नेपाल)

Translate »