होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

स्काई न्यूज /चैत २, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले होली पर्व (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । कार्यालयले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरस्ती) रङ, लोला अवाञ्छित क्रियाकलाप कार्य नगर्न आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बुधबार एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् ।

होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङग दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादकपदार्थ सेवान गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न सूचनामा भनिएको छ । कसैले अवाञ्छित एवं उछङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि सभ्य तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ ।

चाडपर्व मनाउने क्रममा कसैको इन्छा विपरित रंग लगाउने, लोला हान्ने, फोहोर पानी तथा हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षा अपनाई चाडपर्व मनाउन जिल्लाबासीलाई प्रहरीले अनुरोध गरेको छ ।

चाडपर्वको नाममा अवाञ्छित एवम् कानून विपरित कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही हुने बताईएको छ । यस्तै मादकपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन तथा सवारीसाधन तीव्रगति नचलाउन पनि प्रहरीले आग्रह गरेको छ । मोटरसाइकलमा दुईजना भन्दा बढी नचढ्न, अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, लागुऔषध सेवन नगर्न तथा चर्को आवाज आउने गरी डिजे गीत र बाजा नबजाउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।

 

 

Translate »