सुर्खेतमा साढे १२ हजार म्यादी प्रहरी भर्ना गरिँदै


म्यादी प्रहरी । फाइल फोटो ।
स्काई न्यूज / चैत ४, सुर्खेत । स्थानीय तह निर्वाचनका लागि सुर्खेतमा साढे १२ हजार बढी म्यादी प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि १ हजार २ सय ६३ जना म्यादी प्रहरी भर्ना गर्न लागेको हो । जिप्रकाले बुधबार म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको छ । म्यादी प्रहरीका लागि योग्यता पुगेको व्यक्तिले यही चैत ६ देखि ११ सम्ममा आवेदन दिन सूचना गरिएको हो ।
इच्छुकले जिल्ला प्रहरी कार्यालयमा आएर दरखास्त फाराम लिन र पेस गर्न सक्ने प्रहरी कार्यालयले जनाएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीका लागि आवेदन दिन सक्ने छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत रही निवृत्त वा उपदानप्राप्त पूर्व सुरक्षाकर्मी र पूर्व वनरक्षक, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त नेपाली नागरिक र विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भइ सन्तोषजनक काम गरेका व्यक्तिलाई भर्नाको प्राथमिकता क्रममा राखिएको छ ।


आवश्यक न्यूनतम् योग्यताका रुपमा कुनै राजनीतिक दलको सदस्य नरहेको, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, शारीरिक र मानसिक रुपले तन्दुरुस्त हुनु पर्नेछ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले चैत १५ म्यादी प्रहरीका लागि छनोट सुरु हुने र २२ गते नतिजा सार्वजनिक गर्ने बताए । छानिएका म्यादी प्रहरीलाई चैत २८ मा प्रशिक्षण दिइनेछ ।
निर्वाचन अवधिमा म्यादी प्रहरीले ४० दिन काम गर्नु पर्नेछ । यो अवधिमा सरकारले एक म्यादी प्रहरीलाई प्रहरी जवान सरहको आधारभूत मासिक तलब (२२ हजार ६ सय ८० रुपैयाँ) ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ, खाद्यान्नका लागि एकमुष्ठ ७ हजार २ सय र पोशाकका लागि ६ हजार रुपैयाँ दिनेछ । निर्वाचन हुने ठाउँमा खटिने म्यादी प्रहरीलाई आउने÷जाने खर्च एक हजार रुपैयाँ, वीमा र अन्य सुविधासमेत दिइनेछ ।
यता सुर्खेत जस्तो कर्णाली प्रदेशको राजधानीका लागि साढे १२ हजार म्यादी प्रहरी साह्रै कम संख्या तोकिएको सरोकारवालाले बताएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा सुर्खेतमा २ सय ९२ वटा मतदान केन्द्र तोकिएका छन् । मतदान स्थल भने १ सय ३८ नै कामय राखिएको छ । स्थानीयतहको निर्वाचनमा सुर्खेतबाट २ लाख ४० हजार मतदाताले मतदानमा भाग लिन पाउने भएका छन ।


