मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


दीपक शर्मा / चैत ६ सल्यान । सल्यानमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका – पट्नेरीमा खलङ्गाबाट श्रीनगरतर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकले ठक्कर दिँदा सोही पट्नेरी निवासी २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हिजो साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उपचारको क्रममा मृत्यु भएका डाँगीको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदै गर्दा परिवारले बाटो अवरुद्ध गरी शव घरमा राखेका थिए ।
पीडित पक्षले तत्काल क्रिया खर्च बापत ५० हजार र अन्य नियम अनुसार पाउने बिमा बापतको रकम उपलब्ध गराउने सहमति पछि लास पोस्टमार्टम लागि सल्यान जिल्ला अस्पताल राखिएको प्रहरीले बताएको छ । मोटरसाइकल चालक पनि घाइते भएको र उनको सामान्य उपचार पछि प्रहरीको नियन्त्रणमा ल्याइएको पौडेलले जानकारी दिए ।

