चिनियाँ विदेशमन्त्रीसँगको भेटमा एमाले अध्यक्ष ओलीद्वारा बीआरआईसँग जोडिएका आयोजना अघि बढाउन आग्रह

चैत १३, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ ।
तीन दिने नेपाल भ्रमणमा शुक्रवार आएका विदेश मन्त्री वाङसँगको भेटमा अध्यक्ष ओलीले बेल्ट एण्ड रोड(बीआरआई) सँग जोडिएका आयोजनाहरुलाई तत्काल अघि बढाउन आग्रह गरे ।
उनले बीआरआई अन्तर्गतका आयोजनाहरु सडक, सिंचाई, रेल, जलविद्युत् र सीमानाका बनाउने कुराहरुमा छलफल भएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए ।
उनले कोरोनाको महामारीपछि बन्द भएका नेपालसँगका नाकाहरु खोल्न, कोभिडका कारण चीनबाट फर्किएका त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई लैजान र हुम्ला पारी अलपत्र परेका करीब ५०० जना नेपालीहरुलाई नेपाल आउने व्यवस्था मिलाइदिन पनि आग्रह गरेका थिए ।

उनीहरु बीच हिमालय मल्टी डाइमेनिस्नल रिलेशनको एउटा रणनीतिक उद्देश्यका साथ अघि लैजाने कुरालाई पनि अघि बढाउने कुरामा पनि छलफल भएको छ ।
भेटमा चिनियाँ विदेशमन्त्री वाङले तत्काल गर्नुपर्ने समस्या समाधान र दीर्घकालीन रुपमा बीआरआईमार्फत अघि बढाइएको आयोजनाहरुमा चीन प्रतिवद्ध रहेको बताएका थिए ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अधयक्ष पुष्पकमल दाहालले पनि वाङ यीसँगैको भेटमा बीआरआई अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेका छन् ।
नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै उनले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीमार्फत चीन सरकारलाई आग्रह गरेका हुन् । (आर्थिक अभियान)