सुर्खेतमा चार फरार प्रतिवादी पक्राउ
स्काई न्यूज चैत १४, सुर्खेत । सुर्खेत प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा जिल्ला अदालत सुर्खेतबाट सजाय पाएका चारै जना फरार प्रतिवादीलाई सोमबार जिल्ला सदरमुकाम वीरेन्द्रनगरका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
जग्गा खिचौला मुद्धाका फरार प्रतिवादी वीरेन्द्रनगर–१२, निवासी लक्ष्मी सुनार, केही सार्वजनिक अपराध मुद्धाका फरार प्रतिवादीहरु वीरेन्द्रनगर–७, का ललित सुनार र दिपक गौली एवं वीरेन्द्रनगर–११, का धनबहादुर थापालाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका चारै जना फरार प्रतिवादीलाई अदालतले एक महिना कैदसहित ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो ।
स्थानीय तहको निर्वाचना नजिकिएसँगै विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ ।