ट्रक चालकको घटनास्थलमै मृत्यु
स्काई न्यूज/ चैत १४, सुर्खेत । कोहलपुर–सुर्खेत (रत्न राजमार्ग) को चिसापनी–बबईखण्डमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको ट्रक सोमवार विहान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ । राजमार्गको चिसापनी–बबईखण्डको बाँसगढी नगरपालिका–१, बर्दियाको उन्नती खोलामा लु २ ख ८८३ नम्बरको ट्रक सडकबाट अन्दाजी ६० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार कृष्ण डाँगीले जानकारी दिए ।
उनले सरिया र सिमेन्ट बोकेको ट्रक दुर्घटनामा परेर सूर्यगढी गाउँपालिका–१, नुवाकोटका ३६ वर्षीय सोम तामाङको मृत्यु भएको जनाए । दुर्घटनामा ओमसतिया गाउँपालिका–५ रुपन्देहीका २२ वर्षीय अनिल हरिजन घाइते छन् । घाइते हरिजनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको डाँगीले बताए ।
यसैवीच सोमबार नै नेपालगञ्ज कोहलपुर सडकखण्डको कोठारपुरमा भे १० प ४७ ३० र भे ५ प ४४४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा भारत घर भएका छत्तिस दुबेको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुबेलाई तत्काल कोहलपुर मेडिकल कलेज लगिएपनि उपचारका क्रममा उनको मृत्यु भएको हो ।
उक्त मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।