चार वर्षदेखि फरार प्रतिवादी पक्राउ

स्काई न्यूज / चैत १५, सुर्खेत ।  सुर्खेत प्रहरीले चार वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत सुर्खेतबाट सजाय पाएका जातिय छुवाछुत मुद्धाका फरार प्रतिवादी भरत शाहीलाई मंगलबार वीरेन्द्रनगरबाट प्रहरीले पक्राउ गरेको हो ।


अदालतले बराहताल गाउँपालिका–८, निवासी २२ वर्षीय शाहीलाई जातिय छुवाछुत मुद्वामा चार वर्ष पहिले ३ महिना कैद सजायसहित १ हजार जरिवाना फैसला गरेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले पक्राउ गरी मंगलबार नै कैद तथा जरिवाना भुक्तान गर्न जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ ।

Translate »