अखाद्य जुस खादा जुम्लाका २५ विद्यार्थी बिरामी

सागर परियार / जुम्ला । म्याद गुज्रेको अखाद्य जुस खाँदा जुम्ला गुठिचौर गाउँपालिकाको एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थी बिरामी परेका छन् । गुठीचौर–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कुलका २५ जना विद्यार्थी एक्कासि बिरामी भएका हुन् ।

म्याद नाघेको ट्याङ जुस जाँदा विद्यार्थीहरू एकाएक बिरामी पर्न थालेको हिमाली बोडिङ स्कुलका प्रिन्सिपल मन्जील गिरीकाले बताए। व्यापारीले जथाभाबी म्याद नाघेका अखाद्य बस्तु विक्री गर्न थालेपछि विद्यार्थी बिरामी भएको उनको भनाई छ ।

उनले भने,‘गर्मी बढेपछि विद्यार्थीले पानी सँग ट्याङ जुस मिलाएर खाएका रहेका छन् । एकाएक पेट दुख्ने, टाउको दुख्ने भन्दै विद्यार्थी रुन थालेपछि नजिककै अस्थायी कोभिड अस्पताल लिएर उपचार गरिएको छ । अहिले विद्यार्थीको अवस्थामा सामान्य रहेको छ ।’

गाउँघरतिर सञ्चालनमा रहेका साना बजारमा म्याद नाघेका अखाद्य बस्तुको विक्री बढेको छ । स्थानीय तहलाई बजार अनुगमन गर्ने र अखाद्य बस्तु नियमन गर्ने अधिकार भएपनि यस्ता विषयमा जनप्रतिनिधिले त्यति चासो दिएका छैनन् । जसका कारण खुलेआम म्याद सकिएका वस्तु विक्री भइरहेको छ ।


एकाएक विद्यार्थी बिरामी पर्नुले म्याद गुज्रेको जुससँगै पानीमा पनि केही समस्या हो कि भन्ने आशङ्का भएपछि पानी परीक्षण पनि गर्न थालिएको प्रिन्सिपल गिरीकाले जानकारी दिए।

विद्यालयमा हरेका २ सय ६० जना विद्यार्थी मध्ये २५ जना बढी विद्यार्थी एक्कासि बिरामी परेका हुन् । बिरामी हुने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि बुधवारदेखि आउँदो आइतबारसम्म विद्यालय बन्द गरिने भएको छ ।

अभिभावकसँग छलफल तथा परीक्षण पश्चात् मात्रै विद्यालय खोल्ने तयारी छ । म्याद नाघेको ट्याङ जुस अखाद्य बस्तु खाएपछि विद्यार्थी बिरामी परेको गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालराम नेपालीले बताए। उनले भने,‘औषधि खुवाएपछि अवस्था सामान्य भएको छ । जलवायु परिवर्तन सँगै बढेको धुलोधुँवाले पनि समस्या देखिएको हुन सक्ने अनुमान स्वास्थ्यकर्मीको छ ।

यता कर्णाली बोर्डिङ स्कुलका प्रिन्सिपल रतन बहादुर शाहीले आफ्नो विद्यालयमा पनि विगत एक सातादेखि दैनिक २÷३ जना विद्यार्थीहरूमा पेट दुख्ने, टाउको दुख्ने समस्या आएको बताए । उनले भने , ‘सबै बालबालिकालाई स्कुलकै क्यान्टिनबाट खाजा खुवाउने गरिएकाले बजारको अखाद्य वस्तु खाने अवस्था छैन । तर किन विद्यार्थी बिरामी भइरहेका छन् भन्ने पत्तो लगाउन सकिएको छैन । विद्यार्थी दैनिक बिरामी भइरहेका छन् ।’

गाउँका साना बजारमा अखाद्य वस्तुको विक्री बढिरहेकोले प्रहरी प्रशासन उद्योग वाणिज्य सङ्घ लगायतका सरोकारवालाको गाउँ केन्द्रित बजार अनुगमनमा जोड दिनु पर्ने देखिन्छ ।

Translate »