प्रदेश आयुर्वेद औषधालय सुर्खेतलाई सम्मान
स्काई न्यूज /चैत १९, सुर्खेत । सुर्खेत स्थित प्रदेश आयुर्वेद औषधालयलाई सम्मान गरिएको छ । नेपाल आयुर्वेद चिकित्सक संघले आफ्नो १० औं राष्ट्रिय सम्मेलनको अवसर पारेर शुक्रबार काठमाडौंमा प्रदेश आयुर्वेद औषधालयलाई सम्मान गरेको हो ।
कोभिड–१९, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आयुर्वेदका क्षेत्रबाट उल्लेखनीय कार्य गरे वापत प्रदेश आयुर्वेद औषधालयलाई सम्मान गरिएको छ । सम्मानपत्र खानेपानी मन्त्री उमाकान्त चौचरीले औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजाललाई प्रदान गरेका हुन् ।
संघद्वारा प्रदान गरिएको सम्मान पत्र ग्रहण गर्दै डा. रिजालले सम्मानित हुन पाउँदा थप जिम्मेवारीसँगै आयुर्वेद औषधालयप्रति आम नागरिकका अपेक्षाहरु बढ्दै गईरहेको बताए । उनले कोरोना महामारी ताका प्रदेश तथा संघ सरकारले प्रदेश आयुर्वेद औषधालयलाई नागरिकको सुःस्वास्थ्य बनाउन दिएको जिम्मेवारी पुरा गरे वापतको प्रतिफलले नै सम्मानित हुन पाएको जिकिर गरे ।
आउदा दिनहरुमा समेत आयुर्वेद चिकित्साप्रति आम नागरिकको बढ्दो विश्वास र अपेक्षालाई पुरा गर्न प्रदेश आयुर्वेद औषधालय निरन्तर सेवामा समर्पित हुने उनको भनाइ थियो ।