बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा प्रवेश

 चैत १, धादिङ ।  पछिल्लो समय स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमालेमा देशभर प्रवेश गर्ने नेपाली नागरिकको लहर लागेको छ । पार्टीले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्न देश विदेशमा रहेका नेपाली नागरिकहरु अहिले विभिन्न पार्टी परित्याग गरि एमालेको सदस्य बन्नका लागि तछाडमछाड गरिरहेका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका हुन् । उनी नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको सदस्यसमेत थिए ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष हुन् । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि माओवादी छाडेर एमालेमा फर्किएका हुन् ।

डल्लाकोटीलाई एमालेमा स्वागत गर्न एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, एमाले नेता पुष्प कँडेललगायत पनि बालकोट पुगेका थिए ।  ई–कान्तिपुर ।

Translate »