२०८३ असार २४ , बुधबार
Sky News Nepal
२०८३ असार २४ , बुधबार

स्थानीय तह निर्वाचन : सुर्खेतमा राजनीतिक सरगर्मी बढ्यो



स्काई न्यूज /चैत २१, सुर्खेत ।  स्थानीय तह निर्वाचन नजिकिएसँगै सुर्खेतमा क्रियाशील राजनीतिक पार्टीले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन् । चुनावमा आफ्नो पक्षमा मत परिणाम पार्ने होडबाजीमा राजनीतिक पार्टीहरुले आ–आफ्नो सक्रियता बढाएका हुन् ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर अहिले दलहरुको सक्रियता बढेको छ । निर्वाचन नजिकिएकाले आ–आफ्नो पक्षमा पार्न ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले उम्मेदवार छनोट अन्तिम चरणमा पु¥याएका छन् ।

वडा र टोल स्तरमा भेला, सम्मेलन र जनभेटघाट अभियान सकेका प्रमुख दलहरु उम्मेदवार छनोटको अन्तिम तयारीमा रहेको बताएका छन् । कतिपय दलहरु तालमेलको विकल्प खुल्ला राख्दै उम्मेदवार छनोटमा जुटेका हुन् । मत सर्वेक्षण गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न स्वतन्त्र मतदातालाई आकर्षित गर्ने र अन्य पार्टीका मतदाता तान्ने रणनीतिमा दलहरुले जोड दिएका छन् । मतदाता भने नागरिकको नजिकको सरकारका रुपमा रहने स्थानीय तहमा सक्षम, योग्य र दूरदर्शी योजना बनाएर कार्यान्वयन गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताउँछन् ।

चौकुने गाउँपालिका–६, रानका काशीराम जैसी देवकोटाले स्थानीय समस्या पहिचान र सम्बोधनका लागि अगुवाइ गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने सुझाव दिए । ‘जनताको समस्या र आवश्यकता बुझेर काम गर्न सक्ने उम्मेदवार बनाउनुपर्छ,’ उनले भने, ‘सबै दलहरुले सक्षम र योग्य व्यक्तिलाई उम्मेदवार बनाए भने मतदातालाई विवेक प्रयोग गर्न सजिलो हुन्थ्यो ।’

भेरीगंगा नगरपालिका–१२, छिन्चुका यामलाल कँडेल ५ चुनाव नजिकिएसँगै गाउँमा राजनीतिक सरगर्मी बढेको बताए । उनले युवाको रोजगारी, गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा, सन्तुलित विकास, शुसासन र पारदर्शिताको मुद्दा अबको चुनावी एजेण्डा बन्नुपर्नेमा जोड दिए । राजनीतिक योगदान गरेका, स्वच्छ छवि, सामाजिक भावना र अनुभवी व्यक्तिलाई मतदाताले उम्मेदवारका रुपमा चाहेको उनको भनाइ छ ।

विभिन्न पार्टीहरुले चैत २७ गतेसम्म वडा र पालिकाका उम्मेदवार सिफारिस गर्न समय दिएका छन् । कांग्रेस सुर्खेतले एक महिने अभियानका क्रममा वडा र पालिकाको सिफारिस र खटिएका प्रतिनिधिको प्रतिवेदनका आधारमा उम्मेदवार छनोट गरिने योजना बताएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच चुनावी तालमेलको सम्भावना भएपनि औपचारिक रुपमा छलफल गरेका छैनन् ।

नौ वटा स्थानीय तहमा ९९ वटा वडा रहेको सुर्खेतमा करिब २ लाख ३८ हजार मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले १३८ मतदानस्थल र २९१ मतदान केन्द्र कायम भएको जानकारी दिए । उनका अनुसार कर्मचारीको विवरण संकलन गरेर श्रेणी/तह विवरण छुट्याएर मुख्य निर्वाचन कार्यालयमा पेश गर्ने तयारी गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मतदानस्थलको स्थलगत अनुगमन गरी सुरक्षा रणनीति बनाउन जुटेको जानकारी दिए । निर्वाचनमा सुर्खेतमा राष्ट्रिय मान्यता प्राप्त ६ र अन्य १९ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । विसं २०७४ को चुनावमा २ लाख ४ हजार मतदाता रहेका थिए । गत चुनावमा जिल्लामा काँग्रेसले वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चिङगाड गाउँपालिका जितेको थियो ।

एमालेले लेखबेशी नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकासहित वीरेन्द्रनगर नगरपालिकामा उपप्रमुख सहित बहुमत सदस्यमा जित हात पार्न सफल भएको थियो । नेकपा (एमाले) को पकड रहेको सुर्खेतमा सरकार सम्बद्ध दल गठबन्धन गरेरै भएपनि एमालेलाई पराजित गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउने दाउमा रहेका छन् । एमालेले आफ्नो विरासत जोगाउन निकै सक्रियता बढाइरहेको छ ।

राजनीतिक दलले केन्द्रीय स्तरका प्रभावशाली नेता जिल्ल स्तरीय कार्यक्रममा निमन्त्रणा गराएर जनतालाई आफ्नो प्रभावमा राख्ने अधिकतम प्रयास गरिरहेका छन् । यस पटकको निर्वाचनमा गठबन्धन गरेरै भएपनि आफ्ना उम्मेदवारलाई विजयी गराउने नेपाली काँग्रेसको योजना छ । तर काँग्रेस भित्रकै अर्को पक्षले भने सबैलाई समान अवसर दिँदै अन्तर विरोध कम गर्नुपर्ने सुझाव दिँदै आएको छ ।

प्रकाशित मिति : २०७८ चैत २१ गते सोमबार
Translate »