२०८३ असार २४ , बुधबार
Sky News Nepal
२०८३ असार २४ , बुधबार

सुर्खेतबाट क्षयरोग मुक्त नेपाल घोषणा अभियानको शुभारम्भ



स्काई न्यूज /चैत २२, सुर्खेत । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवाडाले मंगलबार सुर्खेतको वीरेन्द्रनगरबाट ‘क्षयरोग मुक्त नेपाल घोषणा अभियान’ को शुभारम्भ गरेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ क्षयरोग मुक्त नेपाल घोषणा अभियानको शुभारम्भ गर्दै मन्त्री खतिवडाले अबको चार वर्ष भित्र देशबाटै सधैंका लागि क्षयरोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य राखिएको बताए ।

उनले क्षयरोग उन्मूलनका लागि सरकारले दक्षजनशक्ति, निःशुल्क औषधिसँगै उच्च प्रविधि मार्फत रोग पत्ता लगाउने विभिन्न उपाय उपलब्ध गराउँदा–गराउँदैपनि अझै समाजमा आधा भन्दा बढी क्षयरोगीहरु उपचार गर्न नआएको जनाए । क्षयरोगको उपचार गराउन नआएका मानिसले नै क्षयरोग फैलाई रहेकाले अब स्थानीय तह, प्रदेश र संघ सरकारसँगै आम नागरिक क्षयरोग मुक्त नेपाल बनाउनका लागि जुट्न उनले आग्रह गरे ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले प्रदेशमा अहिले पनि करिब १२ सय क्षय रोगका विरामी मध्ये ६२ प्रतिशत पुरुष र ३५ प्रतिशत महिला रहेको जानकारी दिए । उनले कर्णालीबाट क्षयरोग मुक्त नेपाल घोषणा अभियानको शुभारम्भ गरेकोप्रति धन्यवाद दिँदै यहाँको गरिवी, अशिक्षा र पूर्वाधार विकासमा समेत ध्यान दिन संघीय सरकारलाई आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुर र केन्द्रका योजना तथा अनुगमन शाखा प्रमुख मुक्ति खनालले छ महिनासम्म बीचमा नछुटाइ औषधी खाइरहे सामान्यत निको हुने यो रोग निर्मुल पार्ने अभियान चलेपनि प्रभावकारी नहुँदा अब योजनाबद्ध ढंगले रोग अन्त्यका लागि जुट्नु पर्नेमा जोड दिए । नेपालको गरिबी, चेतनाको कमी र कमजोर स्वास्थ्य सेवा प्रणालीका कारण नियन्त्रण कठिन रहेको भन्दै क्षयरोगको प्रकोप खासगरी पोषण र चेतनाको कमी भएकै समुदाय पर्ने गरेको उनीहरुको भनाई थियो ।

प्रकाशित मिति : २०७८ चैत २२ गते मंगलबार
Translate »