राप्रपा नेपालको वीनपा नगर कमिटी गठन
स्काई न्यूज /चैत २२, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सुर्खेतले वीरेन्द्रनगर नगर कमिटी गठन गरेको छ । मंगलबार वीरेन्द्रनगरमा भएको राप्रपा नेपाल सुर्खेतको भेलाले सुदीप आचार्यको अधयक्षमा ९ सदस्यीय वीनपा नगर कमिटी गठन गरेको हो ।
नगर कमिटीको उपाध्यक्ष नैना खरु, सचिव भिमबहादुर चौधरी, कोषाध्यक्ष जमुना खत्री, सह–सचिव निशान्त तिरुवा तथा सदस्यहरु गणेश न्यौपाने, पूर्णप्रसाद न्यौपाने, इन्द्र वली र मनिसा भुषाल सर्वसम्र्मत चयन भएका छन् ।
नगर भेलालाई राप्रपा नेपालका केन्द्रीय सदस्य ईश्वरकुमार श्रेष्ठले सम्बोधन गर्दै भने, ‘राप्रपा नेपालप्रति आम नागरिकको रुझान बढ्दै गईरहेकाले स्थानीय तहको निर्वाचनमा सके एक्लै जाने, नसके गठबन्धन गरेर अघि बढ्ने रणनीति बनाएका छौं ।
उनले नव निर्वाचित नगर कमिटीलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै आम नागरिकका जनजीविकासँग जुडेका विषयवस्तुलाई उठाउँदै मतदाताको घरदैलोमा पुग्न आग्रह गरे ।
भेलालाई सुर्खेत जिल्ला अध्यक्ष जीवन चन्द, पूर्व केन्द्रीय सदस्य अमृत राना युवक संगठनका केन्द्रीय सदस्य मानबहादुर रानालगायतले नवनिर्वाचित कार्य समितिलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकाम व्यक्त गरे ।
नगर भेलाबाट नेपाल काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर करिब दुई दर्जन नेता, कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेका छन् । नव प्रवेशी सबै नेता कार्यकर्तालाई राप्रपा नेपालका केन्द्रीय सदस्य श्रेष्ठले अविर तथा सदस्यता पत्र प्रदान गरेर पार्टीमा स्वागत गरेका थिए ।