विकास खाने प्रवृतिले कर्णाली कंगाल भयो : नेता कँडेल

स्काई न्यूज /चैत २२, सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले राजनीति मूल्य मान्यता विपरित कर्णालीमा विकास खाने प्रकृति रहेकाले यसबाट बच्न निजामति कर्मचारीलाई सुझाव दिएका छन् ।

नेपाल निजामति कर्मचारी संगठन कर्णाली प्रदेशको मंगलबार वीरेन्द्रनगरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दैै उनले राजनीति आवरणमा विकास गर्ने नभई खाने प्रकृति रहेकाले यसको अन्त्यका लागि कर्मचारीको समेत एक्यवद्धता आवश्यक रहेको औल्याए ।

नेकपा एमालेले कर्णालीमा भ्रष्टाचार र अनैतिक क्रियाकलापप्रति खबरदारी गर्दै आईरहेको स्मरण गर्दै नेकपा एमाले कर्णाली प्रदेश ईन्चार्ज समेत रहेका कँडेलले सुशासन विना कर्णालीको समृद्धि नहुने हुँदा सबै क्षेत्रका नागरिकले एमालेको पक्षमा वकालत गर्न आवश्यक रहेको जिकिर गरे । विकासका नाम लुटतन्त्र मच्चाउने प्रवृत्तिले कर्णाली दिनप्रति कंगाल बन्दै गईरहेको उनको भनाई थियो ।

कार्यक्रममा अर्का नेता गोरख बोगटी, एमाले सुर्खेत जिल्ला अध्यक्ष अमृत विसीलगायतले अधिवेशन सफलताको शुभकामना दिँदै एमालेले अघि सारेका एजेण्डालाई जनताको घर दैलोसम्म पु¥याउन सके समृद्धि ल्याउन धेरै दिनु कुर्नु नपर्ने बताए ।

उनीहरुले एमालेका नीति, विचार र आर्दश आम नागरिकको जीवन भोगाईसँग सम्बन्धित रहेकाले स्थानीय तहको निर्वाचनमा समेत यसको प्रयोग गर्न आग्रह गरे ।

नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले सुशासनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका रहने भएकाले आफ्ना ४० हजार सदस्यलाई बैशाख ७ गतेपछि स्थानीय तह, प्रदेश र केन्द्रसम्म प्रशिक्षण दिइने कार्यक्रम रहेको बताए ।

निजामती कर्मचारीविरुद्ध आउने ऐन कानूनलाई कार्यन्वयन गर्न नदिने बताउँदै उनले निजामती कर्मचारीको हकहितका लागि संगठन सदैव काम गर्न तत्पर रहने जनाए ।

संघ, प्रदेश तथा स्थानीय तहमा ट्रेड युनियन अधिकारको सुनिश्चितताका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै संघीय निजामती ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन तत्काल जारी गराउन पहल भईरहेको उनको भनाइ थियो ।

संगठनका कर्णाली प्रदेश ईन्चार्ज प्रयागराज शर्माले सरकारले गरेको कर्मचारी समायोजनलाई सच्याउन माग गर्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त, निष्पक्ष, तटस्थरुपबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

Translate »