नेपाल बार एसोसिएसनको अध्यक्षमा घिमिरे निर्वाचित


चैत २५, काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन् । महासचिवमा भने अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् ।
अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए । उनको प्यानल नै पराजित भएको छ ।

जितसँगै नेपाल बार परिशरमा विजयी टोलीलाई खादा, फूलमाला र अभीरले स्वागत गरिएको थियो । स्वागत समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायलाई मर्यादित र व्यवस्थित पेशा बनाउने प्रतिवद्धता व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले भरोसा दिलाउने बताए । उनले तीन वर्षे कार्यकालमा सक्षम न्यायालय र सक्षम कानूनकर्मीको उत्पादनमा जोड दिने बताए ।

