भोट के मा भन्ने प्रश्न गर्दा सबैको आँखा सूर्यमा पुग्छ: ओली

बैशाख २, नुवाकोट ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनकोे नतिजा एमाले मय हुनुपर्ने बताएका छन् ।

नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटिले आयोजना गरेको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले देशको ७ सय ५३ वटै स्थानीय तह एमालेको कब्जामा हुनुपर्ने जोड दिएका छन्। एमालेलाई जित्न नदिनको लागि ५ दलले गठबन्धनमार्फत चुनावी माहाेल तताइरहेको ओलीको भनाई छ ।

‘वैशाख ३० गते देशको सबै स्थानीय तहमा निर्वाचन हुदैछ तर एमालेको उम्मेदवारलाई हराउन गठबन्धन मार्फत सड्यन्त्रगरिरहेका छन् तर गठबन्धन जे सुकै होस् सुखी नेपाली समृद्ध नेपाल निर्माणको लागि एमालेको सूर्य चिन्हमा भोट हाल्नुहुन सबैलाई आग्रह गर्न चाहान्छु,’ अध्यक्ष ओलीले भने, ‘एमालेले निर्वाचन जितेर कहिल्यै घमण्ड गर्दैन। झन् शालिन र बिनम्रताको साथ जनताको सेवामा तल्लिन हुनेछ । अत्याधिक बहुमतको साथ आउँदो प्रदेश र संसदीय निर्वाचन जितेर बहुमतको साथ सरकार बनाउनेछ  ।’

आफ्नो पार्टीका कार्यकर्ताहरुलाई मत बढाउन तर्फ लाग्न समेत अध्यक्ष ओलीले निर्देशन दिएका छन् । पार्टीले उम्मेदवार छनौट गरेपछि एक मन भएर एक सुरले चुनावी अभियानलाई अघि बढाउन समेत  उनले नुवाकोटका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । आसन्न स्थानीय तह जित्नै पर्ने दोहोह्राउदै ओलीले भने, ‘भोट के मा भनेर प्रश्न गर्दा सबैको आँखा सूर्यमा पुग्ने गरेको छ । हामीलाई आएको मत कसरी जोगाउने त्यसतर्फ लाग्नु जरुरी छ। बत्ति निभाएर, मतपेटिका साट्नेदेखि मतपत्र चपाउनेसम्म छन् । मतपत्र आँखाबाट ओझेल पर्न नदिनुस्  ।’

साथै अध्यक्ष ओलीले नुवाकोट जिल्ला एमालेको किल्ला बन्ने उद्घोष समेत गरेका छन् । नेपाली कांग्रेसका नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत र बहादुरसिंह तामाङलाई इंकित गर्दै  नेता तथा कार्यकर्ताको साधमा अध्यक्ष केपी शर्मा ओलीले भने, ‘दाइ शरण आउन् कि भाइ शरण आउन्, नरसिंङा आउन् कि अर्का सिंङा आउन् । नुवाकोट जिल्ला लाल किल्ला भएरै छाड्छ ।’ (नागरिक)

Translate »