वीरेन्द्रनगरमा एमालेका ढकाल र खनालबाट मेयर तथा उपमेयरमा मनोनयन दर्ता

स्काई न्यूज /बैशाख १२, सुर्खेत ।  कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको मेयर तथा उपमेयर पदका लागि मुख्य दलहरुका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार निर्वाचन कार्यालय पुगेर एक जना स्वतन्त्र सहित उनीहरुले मेयर तथा उपमेयरका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

 

मेयरमा नेकपा एमालेबाट मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनालले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट उपेन्द्र खड्काले मेयरमा उम्मेदवारी दर्ता गराए भने उपमेयरमा रामकुमारी थापाले मनोनयन दर्ता गराएकी हुन् ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट मेयरमा राजेन्द्र गिरीले उम्मेदवारी दर्ता गराउँदा उपमेयरमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छुन ।

यस्तै, नेकपा एस समाजवादीबाट मेयरमा धना जिसी शाहीले उम्मेदवारी दर्ता गरे भने उपमेयरमा थिर बहादुर रावतले उम्मेदवारी दर्ता गरे । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरमा मुकुन्द श्याम गिरीले आफ्नो उम्मेदवारी दर्ता गराए भने उपमेयरमा अन्जु बस्यालले दर्ता गराईन् ।

यस्तै स्वतन्त्रबाट मेयर पदका लागि अनिल ढकालले समेत उम्मेदवारी दर्ता गराएका छन् । एमालेको लालकिल्लाको रुपमा रहेको सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा यस पटक मेयर तथा उपमेयर पदका उम्मेदवार मोहनमाया ढकाल र नीलकण्ठलाई एक स्वतन्त्र सहित अन्य पार्टीका उम्मदवारले कडा चुनौती पेश गर्ने छन् ।

स्थानीय तह निर्वाचनका लागि दुई दिन उम्मेदवारको मनोनयपत्र दर्ता गर्न निर्धारण गरिएको समय सोमबार सकिएको छ ।

निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने बताईएको छ ।

निर्वाचन आयोगका अनुसार देशैभर स्थानीय तह सदस्य निर्वाचनका लागि ६८ वटा संस्थाले आयोगबाट पर्यवेक्षणका लागि अनुमति लिइसकेको र ती संस्थाबाट करिब २० हजार भन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले आचारसंहिता विपरीत हुने कुनै पनि काम नगर्न विभिन्न राजनीतिक दलहरूलाई आग्रह समेत गरेको छ ।

Translate »