स्थानीय तह निर्वाचन : ७१ हजार बढीले दिए विभिन्न पदका लागि उम्मेदवारी

वैशाख १२, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत सोमवार साँझसम्ममा मेयर तथा उपमेयरलगायत विभिन्न पदका लागि ७१ हजारभन्दा बढीले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका अनुसार सोमवार राति  ७ : ३० बजेसम्ममा ७१ हजार २३७ जनाले उम्मेदवारी दिएका छन्। विभिन्न नगरपालिकाको प्रमुखमा २ हजार ११८, गाउँपालिकाको अध्यक्ष पदमा २ हजार २२१, नगरपालिकाको उपप्रमुखमा१ हजार ३१८, गाउँपालिकाको उपाध्यक्ष पदमा १हजार ५४४, वडाध्यक्षमा १७ हजार ७०१, महिला सदस्यमा ११ हजार ६५५, दलित महिला सदस्यमा १० हजार ३७१ र सदस्यमा २४ हजार ३०९ जनाले उम्मेदवारी दिएका हुन्।

आयोगका अनुसार प्रदेश नं १ मा १२ हजार ९९५, मधेश प्रदेशमा १६ हजार ७४१, बाग्मती प्रदेशमा ११ हजार ४०२, गण्डकी प्रदेशमा ५ हजार ६१२, लुम्बिनी प्रदेशमा १३  हजार ९५, कर्णाली प्रदेशमा ५ हजार ५४५ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ८४७ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका अनुसार मनोनयनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिए पनि लाइनमा बसेकाको मनोनयन दर्ता गरिने छ ।


मुलुकभर २९३ ओटा नगरपालिका रहेको छ । यसैगरी देशभर कुल ४५० ओटा गाउँपालिका रहेका छन्।

आयोगले आइतवार र सोमवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको उम्मेदवारी दिन समय तोकेको थियो।

आयोगले वैशाख १३ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकेको छ।

वैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ। १५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

वैशाख १६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ। त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यस्तै वैशाख १७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ। त्यसैगरी वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ।  आर्थिक अभियान

Translate »