सुर्खेतबाट एसइई परीक्षामा साढे आठ हजार परीक्षार्थी सहभागी

५ सय परीक्षार्थी अनुपस्थित, प्रजिअको अनुगमन टोली गाउँमा

स्काई न्यूज /बैशाख १३, सुर्खेत ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुर्खेतबाट साढे आठ हजार परीक्षाथी सहभागी भएका छन् । परीक्षामा ४ हजार १ सय ५७ छात्रा र ४ हजार २ सय ९६ जना छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतले जनाएको छ । ती मध्ये ग्रेड बृद्धितर्फ ५४ छात्रा, ४५ छात्र गरी कुल ९९ जना रहेका छन ।

त्यस्तै प्राविधिक धारतर्फ ५३ छात्रा र ५५ छात्र गरी कुल १ सय ८ जना सहभागी भएका छन् । नियमिततर्फ १ सय ४४ छात्रा, १ सय ६३ छात्र, ग्रेडवृद्धितर्फ ८१ छात्रा र ९८ छात्र गरी कुुल ४ सय ८६ जना जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका प्रमुख भोजप्रसाद लम्सालले जानकारी दिए ।

उनले जिल्लाका १ सय ६७ विद्यालयका विद्यार्थीका लागि ३१ वटा परीक्षा केन्द्र निधारण गरिएको बताए । उनका अनुसार परीक्षालाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थितरुपमा सम्पन्न गर्न केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष, निरीक्षक, परीक्षा सहायक, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिएको छ ।

परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिले परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गरिएको छ । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दीपा हमालले बताईन् । जिल्लामा हालसम्म शान्त वातावरणमा मर्यादित रुपमा परीक्षा भईरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रजिअ टोली अहिले जिल्लाका विभिन्न निर्वाचन केन्द्रसँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) समेत अनुगमनमा सक्रिय रहेको छ । विगत दुई वर्ष कोभिड–१९ को महामारीले सञ्चालन हुन नसकेको परीक्षा यस वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा भएको हो । एसइईको परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

Translate »