चक्कु प्रहारबाट ४ जना घाइते, २ को अवस्था गम्भीर

बैशाख १५, अछाम । अछाम जिल्लाको ढकारी गाउँपालिकामा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् ।

ढकारी गाउँपालिका वडा नम्बर १ का बर्ष ३९ का मान बहादुर बुढा, बर्ष २१ का हिक्मत बहादुर बुढा, बर्ष ३० कि तुलसी बुढा र बर्ष २१ का खगेन्द्र बुढा माथि बुधवार राति चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामका प्रमुख डिएसपी रबिराज थपलियाले जानकारी दिए । स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच बुधवार राति करिब साढे ११ बजे ढुङ्गा हानाहान भएको थियो ।

यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ । चक्कु प्रहार गर्ने तपेन्द्र प्रहरी नियन्त्रणमा छन् भने अन्य फरार रहेका छन् । चक्कु प्रहारबाट मान बहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्मतको टाउको र हातखुट्टामा चोट लागेको छ । उनीहरू दुवै जनाको अवस्था गम्भीर छ ।

तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हात–खुट्टामा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते भएकाहरूको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन लगिएको छ ।

 

Translate »