२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

मप विश्वविद्यालयद्वारा भाषा तथा शीप विकास केन्द्र स्थापना



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापी भाषा तथा व्यावसायिक शीप विकास केन्द्र स्थापना गरेको छ । विश्वविद्यालयले विभिन्न भाषाको अध्ययन र व्यावसायिक शीप सिकाउने उद्देश्यले केन्द्रको स्थापना गरेको हो ।

संयुक्त राष्ट्र संघका प्रमुख छ भाषा, विश्वमा सबैभन्दा बढी माग भएका र सभ्यतासँग जोडिएका भाषा सिकाउने उद्देश्यले केन्द्रको स्थापना भएको विश्वविद्यालयले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक उपप्राध्यापक चित्रबहादुर केसीले संयुक्त राष्ट्र संघका भाषाका अतिरिक्त जर्मन, जापनिज, कोरियन र विश्व सभ्यतासँग जोडिएका ल्याटिन, ग्रिक, संस्कृतलगायतका भाषाको अध्ययन गराइने जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले हालै वीरेन्द्रनगर नगरपालिका–८ खजुरामा स्थापना गरिएको केन्द्रको विधिवत् उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति सिंहले विश्वविद्यालयले नियमित प्राज्ञिक गतिविधिका अतिरिक्त विश्वस्तरका भाषा र शीप सिकाउन जोड दिएको बताए । ‘विश्वका जुनसुकै ठाउँमा गएर पनि टिक्न सक्ने विद्यार्थी उत्पादन गर्ने लक्ष्यअनुसार केन्द्र स्थापना गरेका हौँ,’ उनले भने, ‘भाषा सिकाउने मात्र नभई ती भाषा बोलिने मुलुकमा पुग्ने विद्यार्थीलाई शीपमूलक व्यावसायिक पाठ्यक्रम तयार गरी रोजगारीमा जोडिनेछ ।’ रासस

प्रकाशित मिति : २०७९ वैशाख १८ गते आइतबार
Translate »