अबको तीन दिन हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं  । काठमाडौं उपत्यकामा आइतबार अलिअलि र सोमबार दिनभर वर्षा भइरहेको छ। वर्षा त्यति ठूलो नभएपनि बीचबीचमा चट्याङ र गर्जनसहित हल्का वर्षा भइरहेको छ।

यस्तै किसिमको वर्षा अझ तीन दिनसम्म हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा आगामी ३ दिनसम्म मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल मुलुकमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। यही प्रभावले गर्दा वर्षाको संभावना रहेको अनुमान महाशाखाको छ।

त्यसै पनि यो प्रारम्भिक मनसुनको समय पनि हो। महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

Translate »