पत्रकारितामा गैरपत्रकारहरुको बाहुल्यता छ, पत्रकारिताको खोलमा गैरकानूनी काम गर्नेलाई कारबाही हुन्छ : हमाल

बैशाख २०, काठमाडौं । सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालले पत्रकारिता क्षेत्रमा गैरपत्रकारहरुको बाहुल्यता बढ्दै गएको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक हमालले पत्रकारितामा गैरपत्रकारहरूको बाहुल्यता बढ्दै गएको विषयमा सोच्नुपर्ने बेला आएको बताए ।

उनले राज्यले पत्रकारिताको खोल ओढेर गैरकानूनी काम गरिरहेकाहरुलाई नियन्त्रण गर्ने पनि दाबी गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताए । पत्रकारिता स्वतन्त्र भएमा मात्र प्रजातन्त्र दीगो हुने उनको तर्क थियो ।

उनले भने,  ‘पत्रकारितामा हामी स्वतन्त्र हुनुपर्छ । जन समक्ष भएको कुरा राखिदिनुपर्छ । त्यसमा अलिकति ट्वीस्ट चाहीँ हुनुहुँदैन । समाचार जुन छ त्यो राखिदिनु पर्छ । बास्तविक कुरा थाहा पाउनेगरी आउनुपर्छ । सबै पत्रकारले यसमा सचेत हुनुपर्ने अवस्था छ । पत्रकारको सुरक्षाका लागि मानव अधिकार आयोग लागिरहेको छ । पत्रकारिता स्वतन्त्र भयो भने नै प्रजातन्त्र दिगो हुन्छ । यसको लागि निष्पक्ष र स्वतन्त्र भएर जानुपर्छ ।’ आर्थिक अभियान

Translate »