मतदान स्थलको सुरक्षामा जुट्यो सशस्त्र प्रहरी

जिल्लाका १३७ वटै मतदान स्थल सशस्त्र प्रहरीको घेरामा

स्काई न्यूज /बैशाख २१, सुर्खेत । सुर्खेतमा आसन्न स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, निष्पक्ष गराउन सबै मतदान स्थलमा सशस्त्र प्रहरी बल परिचालन भएको छ । सशस्त्र प्रहरीका विभिन्न टुकडीहरु बुधबार जिल्लाका नौ वटै स्थानीय तहमा स्थित सबै मतदान स्थलमा पैदल मार्च गर्दै पुगेका छन् ।

आधुनिक हतियार र डिजिटल नक्साबाट सुसज्जित सशस्त्र प्रहरीले बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचन लक्षित सुरक्षा रणनीति बनाएर अघि बढेको जनाएको छ । प्रति पालिकामा एउटा स्ट्राकिङ्ग र दुई वटा मोवाईल गस्ती टोलीसहित ३ वटा यूनिट खटाईएको सशस्त्र प्रहरी बल रक्तकालि गणका गणपति विमल डाँगीले जानकारी दिए ।

उनले जिल्लाका १ सय ३८ वटै मतदान स्थलको सुरक्षाको लागि सशस्त्रका ३७ वटा टुकडीहरु परिचालन गरिएको बताए । उनका अनुसार नौ वटा पालिकामा स्थित निर्वाचन अधिकृतको कार्यालयको सुरक्षाका लागि यसअघि नै सशस्त्र प्रहरी वलका यूनिटहरु परिचालन भईसकेका छन् ।

‘मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै प्रदेश निर्वाचन कार्यालयको सुरक्षाको लागि १/१ वटा यूनिट परिचालन गरिएको छ,’ उनले भने, ‘निर्वाचन सुरक्षा लक्षित ३७ वटा टुकडीसहित डीएसपीको कमाण्डमा स्पेशल रिजर्व टोलीलाई समेत जोड्दा ४ सय ९९ जना जनशक्ति पहिलो चरणमा परिचालन भएका छन ।’

उनले निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी वलसँगै नेपाल प्रहरी, म्यादी प्रहरी र नेपाली सेना समेत संयुक्तरुप परिचालन भएको जानकारी दिए । निर्वाचनमा थप जनशक्ति आवश्यक परेमा अतिरिक्त व्यवस्था समेत गरिएको उनको भनाइ थियो ।

Translate »