स्थानीय तहको निर्वाचन लक्षित सुरक्षा रणनीतिमा जुटे सुर्खेत, बर्दिया र कैलालीका प्रजिअहरु

अन्तर जिल्ला सुरक्षा समन्वय बैठक

स्काई न्यूज /बैशाख २१, सुर्खेत । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै सुरक्षा निकायहरु सुरक्षा रणनीति बनाउन थालेका छन् । स्थानीय तहको निर्वाचन लक्षित संयुक्त सुरक्षा रणनीति बनाउनका लागि सुर्खेत, बर्दिया र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको अन्तर जिल्ला सीमा सुरक्षा समन्वय बैठक कैलालीको चिसापानीमा बुधबार सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय, कैलालीको आयोजनामा भएको बैठकमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन आवश्यक सुरक्षाका विभिन्न आयामहरुप्रति विचार विमर्श भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनले निर्वाचनको समयमा अन्तर जिल्ला सीमा वारीपारिबाट हुन सक्ने सम्भावित जोखिम नियालेर अपनाउनुपर्ने सतर्कताको विषयमा प्रमुख जिल्ला अधिकारीहरुवीच छलफल भएको बताए ।

अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी रेग्मीसहित बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालगायतका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो । वर्तमान सुरक्षा अवस्थाको समिक्षासँगै आगामी रणनीति, अन्तर जिल्ला सीमा निगरानी, फरार अपराधी पक्राउ अभियान, अन्तरसिमा नाकाहरुबाट लागु औषध ओसारपसार नियन्त्रण गर्ने, राजनीतिक आवरणमा हुने अपराधिक गतिविधि रोक्ने, राजमार्ग सुरक्षा बढाउने, सूचना आदानप्रदान गर्ने लगायतका अन्तरक्रियात्मक छलफल भएको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी थापाको अध्यक्षतामा बसेको बैठकमा निर्वाचन पूर्व, मतदान र मतगणनाको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरुलाई रोक्नु मुख्य उद्देश्य रहेको बताईएको छ ।

Translate »