मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

वैशाख २२, काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ ।

पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि आकाश बादलले ढाकेको छ । महाशाखाका अनुसार बिहीवार काठमाडौंको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस छ ।  रासस

Translate »