चौकुनेमा एमालेको पक्षमा उर्लियो जनलहर
स्काई न्यूज /बैशाख २२, सुर्खेत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले चौकुनेले शक्ति प्रर्दशन गरेको छ । एमालेले विहीबार चौकुने गाउँपालिकाको केन्द्र गुटुमा विशाल आमसभा आयोजना गरी आफ्नो ताकत पुष्टि गरेको हो । विशाल आमसभामा एमाले नेताहरुलाई हेर्न र कुरा सुन्न जनलहर उर्लिएको थियो ।
जनसभालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज यामलाल कँडेलले एमालेप्रति दिनप्रतिदिन बढ्दो जनलहर देखेर विरोधी तत्वहरुले मतदातालाई जालझेल र भ्रममा पार्न सक्ने भएकाले सचेत रहन आग्रह गरे । उनले एमालेकै नेतृत्वमा मात्र समावेशी, समउन्नत र सामाजिक सुरक्षाको प्रत्याभूति हुने भएकाले एकढिक्का भएर एमालेको सूर्य चिन्हमा मतदान गरी कर्मठ उम्मेदरहरु विजयी गराउन सुझाव दिए ।
सभालाई पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तथा नेकपा एमाले सुर्खेत ईन्चार्ज नवराज रावतले समृद्धि र विकास एमालेकै नेतृत्वमा सम्भव रहेकाले सूर्य चिन्हमा मतदान गरी ईतिहास बनाउन आग्रह गरे । यसअघि नेकपा एमाले चौकुनेको चुनाव लक्षित विशाल आमसभामा सहभागी हुन गाउँ–गाउँ, वस्तीबाट युवायुवतीसँगै बृद्धबृद्धाहरुको ठूलो जमात आएको प्रत्यक्षदर्शीले बताएका छन् ।
चौकुने गाउँपालिकाको केन्द्रविन्दु रहेको गुटुमा निर्वाचनको मुखैमा एमाले प्रति बढ्दो जनलहरले पुनः चौकुनेको समृद्धी र विकास गर्ने जिम्मेवारी एमालेको काँधमा आएको गाउँपालिकामा अध्यक्षका उम्मेदवार हरिप्रसाद अधिकारीले बताए । उनले जनताले दिएको हरेक जिम्मेवारीलाई ईमानदारितापूर्वक निर्वाह गर्न प्रतिवद्ध रहेको जिकिर गरे ।