स्थानीय तह निर्वाचन : निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र
स्काई न्यूज/ बैशाख २३, सुर्खेत । आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन सुर्खेतको सुरक्षा संयन्त्र आवश्यक रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आँकलन वजवज गर्दै चारै वटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको बताएका छन् । केही सुरक्षा शक्तिलाई तयारी अवस्थामा समेत राखिएको छ । सशस्त्र प्रहरीले भने जिल्लाका १ सय ३८ वटै मतदान स्थलको सुरक्षाको लागि ३७ वटा टुकडीहरु यसअघि नै परिचालन गरिसकेको छ ।
आधुनिक हतियार, डिजिटल नक्साबाट सुसज्जित सशस्त्र प्रहरीले प्रति पालिकामा एउटा स्ट्राकिङ्ग, दुई वटा मोवाईल गस्ती टोलीसहित ३ वटा यूनिट खटाईएको सशस्त्र प्रहरी बल रक्तकालि गणका गणपति विमल डाँगीले जानकारी दिए । ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै प्रदेश निर्वाचन कार्यालयको सुरक्षाको लागि १÷१ वटा यूनिट परिचालन गरिएको छ,’ उनले भने, ‘निर्वाचन सुरक्षा लक्षित ३७ वटा टुकडीसहित डीएसपीको कमाण्डमा स्पेशल रिजर्व टोलीलाई समेत जोड्दा ४ सय ९९ जना जनशक्ति पहिलो चरणमा परिचालन भएका छन ।’
केही सुरक्षा निकायले अहिले पनि मतदानस्थल र केन्द्रको सूचना संकलनसँगै रेखी तथा स्थलगत सुरक्षा प्रदान गर्न निरीक्षणको काम जारी राखेका छन् । एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरि संयन्त्र परिचालन भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ‘मर्यादित निर्वाचनको महत्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो,’ उनले भने, ‘त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विष्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ ।’
उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले त्यसमा कुनै पनि कसर बाँकी नराखी कार्य गर्न मातहतका निकायलाई निर्देशन भईसकेको जनाए । उनका अनुसार जिल्लामा निर्वाचन सुरक्षाका लागि १ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । थप १ सय ५० जना सुरक्षाकर्मी कर्णाली प्रदेश प्रहरी कार्यालयबाट माग गरिएको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए । उनले जिल्लाका नौ वटै स्थानीय तहका सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एक हजार दुई सय ६५ म्यादी प्रहरी परिचालित हुने जानकारी दिए ।
आवश्यकता अनुसार थप सुरक्षाकर्मी परिचालन हुने र मतदान केन्द्रमा गलत गतिविधि भए तत्कालै नियन्त्रणमा लिनसक्ने गरी सुरक्षा टोली परिचालन हुने सुरक्षा संयन्त्र बनाइएको उनको भनाइ छ । प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र ३ जना स्वयंसेवक तोकिएको छ । मतदान केन्द्रमा खटिने सबै कर्मचारीलाई बैशाख २४ र २५ गते तालिम दिएर सामग्रीसहित खटाइने प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
यता राष्ट्रिय अनुसन्धानको टोलीबाट दलहरुको आचारसंहिता उल्लंघन लगायतका गतिविधिको सूक्ष्म अनुगमन भइरहेको छ । जिल्लाका २ लाख ३८ हजार ४ सय ५७ मतदाताका लागि १ सय ३८ वटा मतदान स्थल अन्तर्गत २ सय ९१ मतदान केन्द्र तोकिएको छ । सुर्खेतमा चार गाउँपालिका र पाँच वटा नगरपालिकाबाट कुल ५ सय १३ पदका लागि २ हजार ८४ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
कार्य क्षेत्रमा म्यादी प्रहरी
निर्वाचन प्रयोजनार्थ भर्ना गरिएका म्यादी प्रहरी पनि कार्य क्षेत्रमा खटिसकेका छन् । उनीहरुलाई नेपाल प्रहरीसँगै रहेर काम गर्ने गरी निर्वाचन सुरक्षामा खटाइएको छ । चुनावका बेलामा मतदाताको लाइन मिलाउने, अनावश्यक मान्छे छिर्न नदिने, भिडभाड रोक्ने, नेपाल प्रहरीले लगाए/अह्राएको काम गर्ने जिम्मेवारी म्यादी प्रहरीको हो ।
त्यसअघि निर्वाचन पूर्व हुने आवश्यक तयारी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय क्षेत्र तथा आवश्यक निर्वाचनका गतिवधि सञ्चालन हुने स्थानका सुरक्षामा म्यादी प्रहरी खटाइएको छ । यसका अलावा राजनीतिक दलका गतिविधि हुने स्थान तथा तोकिएका सार्वजनिक क्षेत्रको सुरक्षामासमेत सुरक्षा संयन्त्रले कडाईका साथ निगरानी बढाउन थालिसकेका छन् ।