सुर्खेतका मतदान अधिकृतलाई तालिम

स्काई न्यूज /बैशाख २४, सुर्खेत ।  वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने सुर्खेतका ५ सय ८२ मतदान  अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । दुई दिनसम्म चल्ने तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम दिइएको थियो ।

जिल्लाका १ सय ३८ वटा मतदान स्थल अन्तर्गत २ सय ९१ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो । निर्वाचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले कसरी काम गर्ने वातावरण मिलाउने भन्ने विषयमा तालिम दिइएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । नमुना मतदान अभ्यास पेटिकाअनुसार मतदान केन्द्रमा पुग्नुअघि र पुगिसकेपछि गर्नुपर्ने काम, मतदातालाई भोट हाल्ने तरिका, सुरुदेखि अन्तिमसम्म मतगणना, कस्ता व्यक्तिले भोट हाल्न पाउने–नपाउने, विषयमा तालिममा जानकारी गराइएको उनले जनाए ।

यता पूर्णरुपमा निष्पक्ष, धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नमा आफूहरु प्रतिबद्ध रहेको तालिमका सहभागीहरुले बताएका छन् । जिल्लाका २ लाख ३८ हजार ४ सय ५७ मतदाताका लागि १ सय ३८ वटा मतदान स्थल अन्तर्गत २ सय ९१ मतदान केन्द्र तोकिएको छ । सुर्खेतमा चार गाउँपालिका र पाँच वटा नगरपालिकाबाट कुल ५ सय १३ पदका लागि २ हजार ८४ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

 

Translate »